नेपाल आज हङकङसँग भिड्दै, जिते सुपर थ्री मा स्थान पक्का

थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘सी’ मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान १२:३५ बजे सुरु हुनेछ । यस समूहका दुई टोलीबीचको पहिलो भेट वर्षाका कारण टस समेत नभई रद्द भएको थियो। त्यसपछि नेपालले बहराइनलाई सहजै पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ भने हङकङले खेलेका दुवै खेल वर्षाले प्रभावित भएका छन्। सोमबार बहराइनसँगको खेल पनि वर्षाले बीचमै रोकिँदा हङकङको दुवै खेल रद्द भएका छन् ।
आज नेपालले हङकङलाई पराजित गरेमा एक खेल बाँकी रहँदै समूह विजेता बन्नेछ र सुपर थ्री चरणमा स्थान बनाउनेछ । तर पराजित भएमा नेपालको यात्रा कठिन हुने देखिन्छ ।
पछिल्ला ५ टी–२० खेलमध्ये नेपालले २ खेल जितेको छ भने हङकङले १ जित निकालेको छ । पछिल्ला दुवै खेल वर्षाका कारण रद्द भएका थिए ।
यस छनोटमा ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री चरणमा पुग्नेछ । सुपर थ्री मा टप २ टिम ले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछन् ।
नेपाली महिला टोली अहिलेसम्म ग्लोबल क्वालिफायरसम्म पुग्न नसकेको इतिहासलाई तोड्दै यस पटक विश्वकपको यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित मैदान उत्रदैछ ।
तपाईको प्रतिक्रिया दिनुहोस