धनगढीमा रातभरि विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासीहरू सास्तीमा

कैलाली, धनगढीमा रातभरि विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासीहरू रातभरी ठूलो सास्तीमा परे । गर्मी मौसमका कारण एकातिर गर्मीको समस्या थपिएको छ भने अर्कोतर्फ लामो समयसम्म बत्ती नआउँदा जनजीवन प्रभावित भएको हो।
स्थानीयहरूका अनुसार बिहीबार राति करिब ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । रातभर बत्ती नआएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएका छन् ।
‘गर्मीले सुत्नै सकिएन, पंखा चल्दैन, मोबाइल चार्ज छैन, कार्यालय फोन गर्दा उठ्दैन’, एक स्थानीयवासीले भने। विद्युत् सेवा अवरुद्ध भएको कारणबारे जानकारी लिन खोज्दा नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रको फोन सम्पर्कविहीन रहेको स्थानीयको गुनासो छ।
आज बिहान उज्यालो भएपछि विभिन्न टोलका केही स्थानीयहरू विद्युत् कार्यालयमा गएका थिए । तर उनीहरूले कार्यालयमा कुनै पनि जिम्मेवार कर्मचारी नभेटिएको बताए ।
स्थानीय प्रशासन तथा सम्बन्धित निकायको बेवास्ताका कारण जनतामा असन्तोष बढ्दै गएको देखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस