झडपपछि आज कैलाली कारागारका जेलर फेरिए, पाँच सदस्यीय छानबिन समिति गठन

कैलाली कारागारमा शुक्रबार राति भएको झडपपछि जेलर परिवर्तन गरिएको छ। जेलर बसन्त खत्रीको स्थानमा जालन्धर भुसाललाई नियुक्ति गरिएको छ। भुसाल शनिबार दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।
झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य रहेको थियो। कैदीहरूले केहीबेर कारागार नियन्त्रणमा लिएका थिए र प्रहरीले नियन्त्रण कायम गर्न प्रयास गरेको थियो।
यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटना कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको छ।
गृह मन्त्री रमेश लेखकले पनि सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गरी घटनालाई गम्भीरतापूर्वक लिइएको जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस