Techie IT
२०८२ भाद्र १०, मंगलबार

नेपाल–भारत सीमा समन्वयात्मक बैठक खलङ्गामा सम्पन्न


नेपाल र भारतका सुरक्षा अधिकारीबीच खलङ्गामा आज सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजना तथा भारतीय सशस्त्र सीमा बलको सहभागितामा डिआइजी स्तरीय काउन्टर पार्ट कोर्डिनेशन मिटिङ सम्पन्न भएको हो। यसबारे सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४, दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिएका छन्।

बैठकमा दुवै पक्षले आफ्ना जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा अवस्था र सम्भावित खतराबारे समीक्षा गरेका थिए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी–तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखन र अन्य आपराधिक गतिविधि रोकथामका लागि दुवै देशका सुरक्षाकर्मीहरूले संयुक्त पहल गर्ने सहमति भएको बताइएको छ।

त्यसैगरी, बैठकले सीमा क्षेत्रमा सम्भावित आपराधिक गतिविधिबारे सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत, संरक्षण र पुनःस्थापना गर्ने, साथै सीमा क्षेत्रमा नागरिकको आवागमनलाई सहज र सौहार्दपूर्ण बनाउन प्रयास गर्ने निर्णय गरेको जनाइएको छ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपति, बैतडी, डडेल्धुरा र दार्चुलाका गुल्मपति तथा भारतका अल्मोडाका डीआइजी सुधामसु नौटियाल र पिलिभितका डीआइजी अनिलकुमार शर्मा लगायत १० जनाको उपस्थिति रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट