Techie IT
२०८२ भाद्र १७, मंगलबार

बैतडीमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक


अविरल वर्षाका कारण बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। साथै, जिल्लावासीलाई पनि आकस्मिक अवस्थाबाहेक यात्रा नगर्न आग्रह गरिएको छ।

तीन दिनदेखि लगातार परेको वर्षाले सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ। महाकाली नदीको सतह बढेकाले नदीकिनारमा बसोबास गर्ने बासिन्दालाई चनाखो रहन प्रशासनले चेतावनी दिएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पुण्यविक्रम पौडेलले विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई उच्च सतर्कता अपनाउन, जोखिमपूर्ण स्थानमा नबस्न र अत्यावश्यक नभई यात्रा नगर्न अनुरोध गरेका छन्। साथै, कुनै विपदजन्य घटना भए तत्काल परिचालन हुनेगरी सुरक्षाकर्मी र सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि उनले जानकारी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, रातिको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी–खोल्सातर्फ नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको छ।

प्रजिअ पौडेलका अनुसार, विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारण बाढी–पहिरोले बाटोघाटो अवरुद्ध हुन सक्ने भएकाले बाहिर निस्कँदा र सवारी सञ्चालन गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले सम्भावित क्षतिको जानकारी छरछिमेकी वा गाउँघरमा देखिए तत्काल नजिकको प्रहरी एकाइमा खबर गर्न आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट