कारागारबाट भागेका कैदी फेरि बलात्कार प्रयासको आरोपमा पक्राउ

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार कारागारबाट भागेको भोलिपल्टै फेरि अपराधमा मुछिएका छन्। जेनजी आन्दोलनको अवसरमा कञ्चनपुर कारागारमा तोडफोड र आगजनी हुँदा उनी फरार भएका थिए।
तर, भागेको केही समयमै सुनार फेरि बलात्कार प्रयासमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडकबहादुर खत्रीका अनुसार, स्थानीयहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनलाई फेरि कारागारमा राखिएको छ।
सुनारले बुधबार राति खाना खाएर सुतिरहेकी ५० वर्षीया महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ। महिलाले चिच्याएपछि सुनार भाग्ने क्रममा स्थानीयले लखेटी खेतमा समातेर प्रहरीलाई बुझाएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार, कारागारमा रहेका ४७९ कैदीबन्दीमध्ये २१ जना बाहेक सबै फरार भएका थिए। फरारमध्ये सुनार पनि एक थिए। उनी यसअघि पनि बलात्कार कसुरमा दोषी ठहर भई नौ वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए।
पछिल्ला दुई वर्षदेखि कारागारमा रहेर सजाय काटिरहेका उनी भागेपछि फेरि उही प्रकृतिको अपराधमा संलग्न भएको आरोप लागेको हो। कारागारबाट भागेका ४५ जना कैदी अहिलेसम्म पक्राउ परेका छन् भने अहिले कञ्चनपुर कारागारमा ६६ जना कैदीबन्दी रहेका प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस