सार्वजनिक विद्यालय मर्ज फलामको चिउरा जस्तै, समाधान खोज्दै कैलालीमा कार्यशाला सम्पन्न

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आज कैलाली धनगढीमा गाउँपालिकाका जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृतहरू र विभिन्न सरोकारवालाहरूको सहभागितामा विद्यालय शिक्षा क्षेत्र योजना (SEsp) सम्बन्धि प्रदेशगत अन्तरक्रिया कार्यक्रम सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठीमा विज्ञहरूले शिक्षा र बजेट व्यवस्थापन सम्बन्धी विभिन्न प्रस्तुति दिएका थिए । उपस्थित पालका अध्यक्षहरूले बिद्यालय मर्ज गर्ने कुरा व्यवहारिक रूपमा कठिनाइ भइरहेको बताएका छन् । डोटी बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले सार्वजनिक विद्यालयहरू समायोजन कार्यान्वयन गर्नु फलामको चिउरा चपाउनु जस्तै भएको बताएका छन् । उनले पालिकामा आवासिय विद्यालय बनाउँदा उपयुक्त हुने विचार राखेका छन् । सन्तुलित विकास नहुँदा बसाई सराई तीव्र बढिरहेको उनको राय छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकेरा बोहोराले पालिकाले जति सकारात्मक पहल गर्दा पनि विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा टिकाउन गार्हो भइरहेको बताएका छन् । हिमाली गाउँपालिकामा १-२ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने स्थानमा रहेका विद्यालयहरू मर्ज गर्न अव्यवहारिक रहेको बताएका छन् ।
खप्तड छेडेदह गाउँपालिका अध्यक्षले प्रदेश सरकारले पालिकामा बजेट दिँदा तथा विद्यालयमा बजेट जाँदा आवश्यकताका आधारमा भन्दा कमिसनका आधारमा जाने गरेको गुनासो गरेका छन् । पालिकाले शैक्षिक सुधार गर्नका लागि खप्तड छेडेदहले १० वर्षीय योजना लागू गरिरहेको बताएका छन् । पहाडी जिल्लामा न्यून जन्मदर र बसाईसराईका कारणले सामुदायिक विद्यालयहरू संकटमा परेको अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।
जन्म दर्ता घटाएर उमेर राख्ने प्रवृतीले गर्दा विद्यार्थीहरू अहिले एसइइको फर्म भर्न समस्या आएको थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले बताएका छन् । पालिकामा विद्यार्थी संख्या र शिक्षक दरबन्दीको अनुपात मिलाउन अफ्ट्यारो परिरहेको उनको राय छ । स्वयंसेवक शिक्षक राख्दा बेरुजू आउने समस्या भएकोले कानुनमै स्वयंसेवक शिक्षक राख्न नमिल्ने बनाउनुपर्ने यदि स्थानीय तहले स्वयंसेवक राख्न पाउने सुविधा हुन्छ भने बेरुजू नुहुनुपर्ने अध्यक्ष रोकायाले बताए ।
आर्थिक स्थिति अलिकति मात्र बलियो हुँदा स्थानीयहरूले गाउँबाट सहर तिर बालबच्चा पढाउने प्रवृति भएकोले स्थानीयस्तरका सामुदायिक विद्यालयहरू रित्तिदैं गएको खप्तडछान्ना गाउँपालिका प्रवक्ता रमानान्द जोशीले बताएका छन् ।
स्रोत व्यक्ति तथा विज्ञका रूपमा आमन्त्रित कृष्ण प्रसाद सापकोटाले पहाडी त हिमाली भेगतिरका ठाउँमा आवासीय विद्यालय र सुगमतिरका सामुदायिक विद्यालयहरूमा बसको व्यवस्था गरेर सामुदायिक विद्यालयलाई बलियो बनाउन सकिने बताएका छन् । गुणस्तर सुधारमा ८० प्रतिशत भूमिका शिक्षकको रहने भएकोले शिक्षक नै उत्तरदायी हुनु पर्ने उनको राय छ । बोल्न सक्ने मात्र नभई अब बाँच्न सिकाउने शिक्षाको खाँचो रहेको सापकोटाले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस