भारत–पाकिस्तान तनावबीच पाकिस्तानी सेना प्रमुख असिम मुनिर फेरि अमेरिका उड्दै

पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर यसै साता अमेरिका पुनः भ्रमण गर्ने भएका छन्। यो उनको दुई महिनामा दोस्रो अमेरिका भ्रमण हुनेछ। उनी सेन्ट्रल कमाण्ड (सेंटकम) को नयाँ प्रमुख नियुक्ति समारोहमा सहभागी हुनेछन्।
असिम मुनिरले यसअघि जुन १४ मा वाशिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औं वार्षिकोत्सव कार्यक्रममा भाग लिएका थिए। सोही भ्रमण क्रममा उनले व्हाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुई घन्टा लामो बन्द कोठामा भेटवार्ता गरेका थिए। यो पाकिस्तानी सेना प्रमुखको ट्रम्पसँग पहिलो आधिकारिक भेट हो।
त्यस भेटमा पाकिस्तान–भारत द्वन्द्व रोक्न ट्रम्पलाई श्रेय दिँदै मुनिरले अमेरिकी राष्ट्रपतिलाई नोबेल पुरस्कारका लागि समेत मनोनयन गर्नुपर्ने धारणा राखेका थिए । ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएको बेला मुनिरको अमेरिका भ्रमण हुन लागेको छ।
यस्तै, पाकिस्तानले अमेरिकाको सेन्ट्रल कमाण्ड प्रमुख जनरल माइकल कुरिल्लालाई ‘निशान ए इम्तियाज’ नामक सर्वोच्च सैन्य सम्मान प्रदान गरेको छ । गत महिना इस्लामाबादस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति आसिफ अली जरदारीले यो सम्मान जनरल कुरिल्लालाई शान्ति प्रवर्द्धन र पाक–अमेरिकी सैन्य सम्बन्ध सुदृढ बनाएको योगदानस्वरूप प्रदान गरेका थिए। जनरल कुरिल्लाले सो अवसरमा पाकिस्तानी राष्ट्रपति जरदारी र सेना प्रमुख मुनिरसँग भेटवार्ता पनि गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस