जिपिएस ह्याक, युरोपियन कमिसन प्रमुख चढेको विमान ‘कागजी नक्सा’को भरमा अवतरण

युरोपियन कमिसनकी प्रमुख उर्सला भोन डेर लेयन चढेको विमानको जिपिएस प्रणाली शंकास्पद रूसी आक्रमणका कारण अवरुद्ध भएपछि कागजी नक्साको सहायतामा अवतरण गरिएको छ।
आइतबार दिउँसो बुल्गेरियाको प्लोभडिभतर्फ जाँदै गरेको जेट विमानमा जिपिएस प्रणाली नचल्दा करिब एक घण्टा आकाशमै परिक्रमा गर्नुपरेको थियो। अन्ततः पाइलटले ‘एनालग’ नक्सा प्रयोग गरेर म्यानुअल रूपमा अवतरण गरेको फाइनान्सियल टाइम्सले तीन अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
बुल्गेरियाको हवाई यातायात सेवा प्राधिकरणले पनि यो घटनाको पुष्टि गर्दै फेब्रुअरी २०२२ पछि जिपिएस ‘ज्यामिङ’ र ‘स्पूफिङ’ घटनामा उल्लेख्य वृद्धि भएको जनाएको छ। ती हस्तक्षेपका कारण विमान तथा भू–प्रणालीका लागि परिचालन चुनौतीहरू सिर्जना हुने गरेको प्राधिकरणको भनाइ छ।
युरोपियन कमिसनले पनि जिपिएस अवरोध भएको स्वीकार गरेको छ। "विमान बुल्गेरियामा सुरक्षित अवतरण भएको छ," प्रवक्ताले भने, "हामीलाई बुल्गेरियाली अधिकारीहरूले यो रूसको स्पष्ट हस्तक्षेप हुन सक्ने जानकारी दिएका छन्।"
तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने सो आरोप अस्वीकार गरेका छन्।
विशेषज्ञहरूका अनुसार जिपिएस ‘ज्यामिङ’ र ‘स्पूफिङ’ प्राविधिक रूपमा प्रायः सैन्य वा गुप्तचर प्रयोजनका लागि प्रयोग गरिने भए पनि हाल रूसले यसलाई नागरिक क्षेत्रमा अवरोध सिर्जना गर्न पनि प्रयोग गरिरहेको पश्चिमा मुलुकहरूले आरोप लगाउने गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस