मोदीको ७५औं जन्मदिनमा ट्रम्पको फोन, युक्रेन युद्धबारे पनि छलफल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ७५औं जन्मदिनका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमार्फत शुभकामना दिएका छन्।
फोन वार्ताको जानकारी ट्रम्प र मोदी दुवैले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा लेख्दै भनेका छन्, “मेरो मित्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमार्फत निकै राम्रो संवाद भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनी उत्कृष्ट काम गरिरहेका छन्।”
ट्रम्पले थप लेखेका छन्, “नरेन्द्रले, रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गरेको पहलमा सहयोग पुर्याएकोमा धन्यवाद।”
त्यस्तै, प्रधानमन्त्री मोदीले पनि एक्समार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, “मेरो मित्र राष्ट्रपति ट्रम्प, तपाईंको फोन कल र ७५औं जन्मदिनमा दिएको शुभकामनाका लागि धन्यवाद। तपाईंझैं म पनि भारत–अमेरिकाबीचको व्यापक र वैश्विक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्णत: प्रतिबद्ध छु।”
मोदीले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि ट्रम्पले गरिरहेका प्रयासलाई समर्थन गर्ने बताएका छन्।
आज १७ सेप्टेम्बरका दिन प्रधानमन्त्री मोदीको ७५औं जन्मदिन मनाइँदैछ।
तपाईको प्रतिक्रिया दिनुहोस