भारतका प्रधानन्यायाधीशमाथि सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार

नयाँदिल्ली । भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर प्रधानन्यायाधीश गवईतर्फ फ्याँकेका थिए। दिल्ली प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
दिल्ली प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार घटना बिहान करिब ११:३५ बजे सर्वोच्च अदालतको कोठा नं. १ मा भएको हो।
‘सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिए र सर्वोच्च अदालतको सुरक्षा इकाईलाई जिम्मा लगाएका छन् । उनी मायूर विहार क्षेत्रका बासिन्दा र सर्वोच्च अदालत बार एसोसिएशनका सदस्य हुन्,’ अधिकारीले बताए।
अधिवक्ता किशोर प्रधानन्यायाधीश गवईले हालै मध्यप्रदेशको खजुराहो मन्दिर परिसरभित्र भगवान् विष्णुको मूर्ति पुनर्स्थापना सम्बन्धी मुद्दाको सुनुवाइमा गरेका टिप्पणीप्रति असन्तुष्ट रहेका खुलेको छ।
घटनापछि पनि प्रधानन्यायाधीश गवई शान्त देखिएका थिए। उनले अदालतभित्र रहेका वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गर्दै भने, ‘यसबाट विचलित नहोस्, मलाई पनि फरक पर्दैन।’
सुरक्षाकर्मीहरूले किशोरलाई अदालतबाहिर निकाल्दै गर्दा उनले चिच्याउँदै भनेका थिए, ‘सनातन धर्मको अपमान हिन्दुस्तानले सहिँदैन।’ घटनापछि प्रधानन्यायाधीश गवईलाई दिल्ली प्रहरीले ‘जेड प्लस’ श्रेणीको सुरक्षा उपलब्ध गराएको छ।
गवईले १६ सेप्टेम्बरमा न्यायाधीश के. विनोद चन्द्रनसँगको इजलासमा खजुराहो मन्दिर परिसरको जवारी मन्दिरमा रहेको भगवान् विष्णुको भग्न मूर्ति पुनर्निर्माणको मागसहित दायर याचिका खारेज गरेका थिए।
इन्डिया एक्सप्रेसका अनुसार, सो सुनुवाइमा गवईले भनेका थिए, ‘यो त केवल प्रचारको लागि दायर गरिएको मुद्दा हो। तपाईं आफूलाई भगवान् विष्णुको भक्त भन्नुहुन्छ भने प्रार्थना गर्नुहोस्, ध्यान गर्नुहोस्।’
तपाईको प्रतिक्रिया दिनुहोस