Techie IT
२०८२ पौष १३, आइतबार

भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएको छ - राष्ट्रपति ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका छन्।

बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन्। हाम्रो सम्बन्ध निकै राम्रो छ।”

उनले थपे, “भारतले रूसबाट तेल किन्दा म खुसी थिइनँ, तर आज मोदीजीले मलाई भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन्। यो ठूलो कदम हो। अब हामीले चीनलाई पनि यस्तै गर्न प्रेरित गर्नुपर्छ।”

अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल खरिद गरेको भन्दै भारतमाथि २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ। यसअघि नै अमेरिकाले २५ प्रतिशत ‘रेसिप्रोकल’ शुल्क तोकेको थियो। यसरी भारतमाथिको कुल भन्सार भार ५० प्रतिशत पुगेको छ।

मिडियाको प्रश्नमा प्रतिक्रिया दिँदै ट्रम्पले भने, “हालै अमेरिकाका नयाँ राजदूत बन्न लागेका सर्जियो गोर र मोदीबीच भेट भएको थियो। त्यसपछि सर्जियोले मलाई भने– ‘मोदीले ट्रम्पलाई माया गर्छन्।’ तर म चाहन्छु, ‘माया’ भन्ने शब्दलाई गलत अर्थ नलगाइयोस्, म कसैको राजनीतिक करियर बिगार्न चाहन्न।”

ट्रम्पले थपे, “मैले वर्षौँदेखि भारतलाई हेर्दै आएको छु। त्यहाँ प्रायः हरेक वर्ष सरकार बदलिन्छ, तर मेरा साथी मोदी लामो समयदेखि सत्तामा छन्। उनले अब भारतले रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन्। यद्यपि यो तुरुन्तै रोकिने होइन, प्रक्रिया सुरु भइसकेको छ।”

सन् २०२२ फेब्रुअरीमा रूस–युक्रेन युद्ध सुरु भएपछि युरोपले रूसी तेलमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि रूसले तेल निर्यात एशियातर्फ मोडिएको थियो।

रिपोर्ट अनुसार, सन् २०२१ मा भारतले रूसबाट कुल तेल आयातको मात्र ०.२ प्रतिशत मात्र ल्याएको थियो। तर २०२५ सम्म पुग्दा रूस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बन्यो। अहिले भारतले दैनिक औसत १.६७ मिलियन ब्यारेल रूसी तेल आयात गर्छ, जुन भारतको कुल आवश्यकताको झन्डै ३७ प्रतिशत हो।

भारतले रूसबाट अन्य देशहरूभन्दा सस्तोमा तेल किन्न पाएको बताइएको छ। भारतीय निजी कम्पनीहरूले रूससँग दीर्घकालीन तेल सम्झौता गरेका छन्। त्यसैले यी सम्झौताहरू रातारात तोड्न सम्भव नहुने भारतीय अधिकारीहरूले बताएका छन्।

भारतले रूससहित इराक, साउदी अरब, अमेरिका लगायतका देशहरूबाट पनि तेल आयात गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट