Techie IT
२०८२ कार्तिक १७, सोमबार

भारतमा दुई दिनका भीषण सडक दुर्घटना, तेलङ्गानामा २० र राजस्थानमा १५ जनाको मृत्यु


दक्षिण भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएका छन्। कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

राज्य सञ्चालित बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको बेला विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला शहर नजिक ठोक्किएको जिल्ला अधिकारी के. चन्द्रकलाले जानकारी दिए। उनका अनुसार बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र धेरै यात्रु भित्रै फसेका थिए।

चेभल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसादका अनुसार दुर्घटनास्थलबाट २० जनाको शव अस्पतालमा पुर्‍याइएको र कानुनी प्रक्रिया पूरा भएपछि पारिवारिकजनलाई हस्तान्तरण गरिनेछ। घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ।

यो दुर्घटना भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार राति भएको अर्को दुर्घटनाको भोलिपल्ट भएको हो। राजस्थानमा यात्रु बोकेको मिनीबस राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु र दुई जना घाइते भएका थिए।

राजस्थानको कोलायत तीर्थस्थलमा पूजापाठ गरेर फर्किरहेका यात्रुहरू जोधपुरतर्फ गइरहेका थिए। मृतकमध्ये १० महिला, चार बालबालिका र बस चालक रहेको वरिष्ठ सरकारी अधिकारी श्रीमती श्वेता चौहानले जानकारी दिए। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा मिनीबसको अगाडिको भाग च्यातिएको र पीडितहरू धातुको टुक्रामा फसेका थिए। वरिष्ठ प्रहरी अधिकारी कुन्दन कन्वारियाका अनुसार बस चालकले अर्को सवारीलाई ओभरटेक गर्ने प्रयास गर्दा राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किएको देखिन्छ। सम्भवतः उनले ब्रेक लगाउन समय पाएका थिएनन्।

अधिकारीहरूका अनुसार भारतमा राजमार्गमा ट्रक र ट्रेलरहरू चेतावनी बत्ती वा परावर्तक चिह्नबिना अव्यवस्थित रूपमा पार्क गरिने सामान्य प्रवृत्ति रहेको छ, जसका कारण राति हुने दुर्घटनामा मृत्युको जोखिम अत्यधिक हुन्छ। पछिल्ला वर्षहरूमा यस्ता लापरवाहीकै कारण धेरै घातक दुर्घटनाहरू भएको जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी, तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डी र राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुवै दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

राजस्थानमै करिब तीन हप्ताअघि यात्रुबसमा सर्ट सर्किटका कारण आगलागी भई कम्तीमा २० जनाको ज्यान गएको घटनापछि पुनः यस्तो ठूलो दुर्घटना हुनु भारतको सडक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट