पेरुका पूर्वराष्ट्रपति भिजकार्रालाई भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल सजाय
पेरुको एक अदालतले दक्षिणी मोकेगुआ राज्यको गभर्नर हुँदा भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै पूर्वराष्ट्रपति मार्टिन भिजकार्रालाई १४ वर्षको जेल सजाय सुनाएको छ। अदालतले उनलाई नौ वर्षका लागि कुनै पनि सार्वजनिक पद धारण गर्न निषेध गर्ने निर्णय पनि गरेको छ।
अदालतका अनुसार भिजकार्राले २०११ देखि २०१४ सम्म मोकेगुआका गभर्नरका रूपमा कार्यरत हुँदा दुई ठूला परियोजना सिँचाइ प्रणाली र अस्पताल निर्माणका ठेक्का दिलाइदिने बदलामा निर्माण कम्पनीहरूबाट करिब ६ लाख ७६ हजार अमेरिकी डलर घुस लिएको आरोप लागेको थियो ।
अभियोजकहरूले उनलाई १५ वर्ष कैदको माग गरेका थिए भने अदालतले तत्काल कारावासको सजाय सुनाएको छ। भिजकार्राले भने उक्त फैसला राजनीतिक प्रतिशोध भएको आरोप लगाउँदै माइक्रोब्लगिङ साइट ‘एक्स’ मा, “यो न्याय होइन, प्रतिशोध हो,” भन्ने प्रतिक्रिया दिएका छन्। उनका वकिलहरूले फैसलाविरुद्ध पुनरावेदन दायर गरिसकेका छन्।
भिजकार्रा २०११–१४ मा मोकेगुआका गभर्नर तथा २०१८ देखि २०२0 सम्म पेरुका राष्ट्रपति बनेका थिए। उनी वर्तमानमा ‘पेरु फर्स्ट’ पार्टीका प्रमुख नेतामध्ये एक हुन्। पेरुमा पछिल्ला वर्षहरूमा उच्च राजनीतिक अस्थिरता र व्यापक भ्रष्टाचारका घटनाबीच उनी कारागारमा पुग्ने चौथो पूर्वराष्ट्रपति बनेका छन्।
२०१८ यता पेरुले छ राष्ट्रपतिको परिवर्तन भोगिसकेको छ। भिजकार्रा स्वयं २०२० मा ‘नैतिक अक्षमताका’ आधारमा महाभियोगका कारण पदच्युत भएका थिए। उनले सबै आरोप अस्वीकार गर्दै आफूलाई “माफियासँग लडेकै कारण” निशाना बनाइएको दाबी गरेका छन्।
भिजकार्राले आफ्नो परिवार राजनीतिक रूपमा सक्रिय रहने संकेत पनि गरेका छन्। उनका अनुसार उनका दाजु मारियो भिजकार्रा २०२६ को राष्ट्रपति चुनावमा उम्मेदवार हुने सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस