रूस–युक्रेन युद्धपछि पुटिनको पहिलो भारत भ्रमण : मोदीले दिए भागवत गीता उपहार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आइतबार बेलुका भारत पुगेका छन्। उनी दिल्लीस्थित पालम विमानस्थलमा अवतरण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थलमा उपस्थित भई स्वागत गरेका थिए। स्वागतपछि दुवै नेता एउटै गाडीमा प्रधानमन्त्रीको आवास ७, लोक कल्याण मार्गतर्फ पुगेको बिबिसीले उल्लेख गरेको छ।
मोदीद्वारा आयोजित निजी रात्रिभोजपछि पुटिनलाई रूसी भाषामा अनुवाद गरिएको ‘भागवत गीता’ उपहार दिइएको छ। उक्त तस्बिर प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गर्दै गीताको शिक्षा संसारभरिका लाखौँ मानिसका लागि प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
पुटिन रूस–युक्रेन युद्ध सुरू भएपछि पहिलो पटक भारत भ्रमणमा पुगेका हुन्।
गत सेप्टेम्बरमा चीनमा सम्पन्न भएको शाङ्घाई सहकार्य संगठन (एससीओ) का सदस्य राष्ट्रहरूको बैठकमा पुटिन र मोदीबीच भेटवार्ता भएको थियो। त्यसबाहेक दुवै नेताबीच पटकपट टेलिफोन संवाद हुँदै आएको भारतीय पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ले जनाएको छ।
राष्ट्रपति पुटिन आज बिहान ११ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुद्वारा आयोजित औपचारिक स्वागत समारोहमा सहभागी हुनेछन्। त्यसपछि हैदरावाद हाउसमा पुटिन र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। पुटिन आज शुक्रबार राति ९ बजे मस्को फर्कने तालिका रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस