अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीकाण्ड, दुईको मृत्यु, आठ गम्भीर घाइते
अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित प्रोभिडेन्स शहरको ब्राउन विश्वविद्यालयमा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्। आइभी लिगअन्तर्गत पर्ने उक्त विश्वविद्यालयमा भएको घटनापछि प्रहरीले शंकास्पद व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ।
प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिँदै परीक्षा चलिरहेको बेला विश्वविद्यालयको बारस एन्ड होली इन्जिनियरिङ भवनमा गोली प्रहार भएको बताएका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्ति कालो लुगा लगाएको पुरुष भएको आशंका गरिएको छ। प्रहरीले शंकास्पदको पहिचानका लागि वरपरका सीसीटीभी क्यामेराको फुटेज जाँच गरिरहेको छ।
मेयर स्माइलीले हालसम्म मृतक तथा घाइतेहरू विद्यार्थी हुन् वा होइनन् भन्ने विषयमा आधिकारिक पुष्टि भइनसकेको बताए। घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘क्रिसमस आउन अब साता–डेढ साता मात्रै बाँकी छ। आज दुई जनाले ज्यान गुमाएका छन् र आठ जना अस्पतालमा उपचाररत छन्। कृपया पीडित परिवारका लागि प्रार्थना गर्नुहोस्।’
रोड आइल्यान्डको राजधानी प्रोभिडेन्सस्थित कलेज हिल क्षेत्रमा रहेको ब्राउन विश्वविद्यालयमा सयौँ शैक्षिक भवन, प्रयोगशाला र छात्रावासहरू रहेका छन्। घटनाको खबर फैलिनासाथ विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको थियो।
ब्राउन विश्वविद्यालयका विद्यार्थी चियाङ–हेङ चिएनले स्थानीय टेलिभिजन स्टेशन ‘ज्वार’सँग कुरा गर्दै आफू तीन अन्य विद्यार्थीहरूसँग प्रयोगशालामा काम गरिरहेका बेला नजिकै गोलीकाण्डको सूचना आएको बताए। उनले करिब दुई घण्टासम्म डेस्कमुनि लुकेर बसेको जानकारी दिए।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै घटनाबारे जानकारी लिएको बताएका छन्। उनले भने, ‘अहिले हामीले गर्न सक्ने भनेको पीडित र गम्भीर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्नु मात्र हो।’
अमेरिकामा विद्यालय, कार्यस्थल तथा धार्मिक स्थलहरूमा हुने सामूहिक गोलीकाण्ड अन्य विकसित देशको तुलनामा बढी हुने गरेको तथ्याङ्कले देखाउँछ। गन भायोलेन्स आर्काइभका अनुसार चार वा सोभन्दा बढी व्यक्ति गोली प्रहारबाट प्रभावित भएका घटनालाई सामूहिक गोलीकाण्ड मानिन्छ। यस वर्ष अमेरिकामा यस्ता ३८९ घटना भइसकेका छन्, जसमा विद्यालयमा भएका कम्तीमा छ वटा घटना समावेश छन्। गत वर्ष अमेरिकामा ५०० भन्दा बढी सामूहिक गोलीकाण्ड भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस