भेनेजुएलाका राष्ट्रपति निकोलस दम्पत्तीलाई न्यूयोर्क ल्याईदै छ - राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले पक्राउ गरी हेलिकप्टरमार्फत भेनेजुएलाबाट बाहिर निकालेर न्यूयोर्कतर्फ लैजाँदै गरेको बताएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिकाले ‘भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण’ गरेको दाबी गरेका थिए। उनले नेपाली समय अनुसार शनिबार राति साढे १० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै यस कारबाहीलाई ‘अभूतपूर्व’ भनेका छन्।
ट्रम्पका अनुसार, यस कारबाहीमा अमेरिकी सेनातर्फ कसैको ज्यान गएको छैन र कुनै विमानलाई क्षति पुगेको छैन। उनले भेनेजुएलाको शासन अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने र सुरक्षित सत्ता हस्तान्तरण नभएसम्म देशको नियन्त्रणमा रहने पनि बताए। “हामी देश चलाउनेछौं, तर केवल तबसम्म जबसम्म सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण हुनेछ,” ट्रम्पले भने।
यसबीच, अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति मदुरो र उनकी पत्नीमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा संघीय मुद्दा दर्ता गरिएको छ। मदुरोमाथि सन् २०२० मा लागुऔषध तस्करी र आतंकवादसम्बन्धी अभियोग लगाइएको छ। ट्रम्पले मदुरोलाई अमेरिकामा लागुऔषध भित्र्याउने गिरोहको नेतृत्व गरेको आरोप लगाउँदै आएका छन्।
मदुरोको पृष्ठभूमि:
६३ वर्षीय मदुरो लोकप्रिय नेता ह्युगो चाभेजका लामो समयका सहयोगी हुन्। चाभेजको सन् २०१३ मा क्यान्सरका कारण निधन भएपछि मदुरो राष्ट्रपति बने। उनी पूर्व बस चालक र श्रमिक संघका नेता थिए। उनका कार्यकालमा भेनेजुएलामा राजनीतिक अशान्ति र गहिरो आर्थिक संकट कायम रह्यो।
सन् २०१७ मा मदुरोले विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रिय सभालाई छलेर कार्यकाल बढाएका थिए। २०१८ को राष्ट्रपतीय निर्वाचन पनि विपक्षी र अन्तर्राष्ट्रिय समुदायले अवैध ठानेका थिए। ट्रम्पले यसलाई पुष्टि गर्दै मदुरो अवैध राष्ट्रपति भएको बताउँदै आएका छन्।
मदुरो र उनका निकट सहयोगीहरूले आफूलाई क्रान्तिकारी भन्दै सत्ता छोड्न नचाहनुको प्रमुख कारण अमेरिकामा दर्ता भएका आपराधिक अभियोग र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हुन्।
मदुरोकी पत्नी सिलिया फ्लोरेस:
मदुरोकी पत्नी सिलिया फ्लोरेसलाई 'फर्स्ट कम्ब्याटेन्ट' भनिन्छ। उनी राष्ट्रिय सभाकी उपसभासद रहँदै सत्ताको आन्तरिक वृत्तमा प्रभावशाली पात्र हुन्। सन् १९९० दशकदेखि चाभेजको वकिल र पछि सांसद बनेकी फ्लोरेसलाई अमेरिकी ट्रेजरी विभागले २०१८ मा भेनेजुएलाको सम्पत्ति लुटपाट र सैन्य तानाशाहीलाई सहज बनाएको आरोपमा प्रतिबन्ध सूचीमा राखेको थियो।
अमेरिकाले गत महिना फ्लोरेसको परिवारका केही सदस्यहरूलाई भ्रष्टाचारको आरोपमा आर्थिक प्रतिबन्ध लगाएको थियो। यसअघि उनका भान्जा पनि कोकिन तस्करी अभियोगमा दोषी ठहर भइसकेका थिए। ट्रम्पको यस कारबाहीपछि भेनेजुएलाको सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय स्थायित्वलाई लिएर विश्वभर गम्भीर प्रश्न उठ्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस