भेनेजुएलाका तेल बोकेका थप दुई ट्याङ्कर अमेरिकाको नियन्त्रणमा, रूस–चीनको कडा प्रतिक्रिया
अमेरिकाले भेनेजुएलाको तेल बोकेको थप दुईवटा पानीजहाज नियन्त्रणमा लिएको छ। भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई पक्राउ गरेपछि अमेरिकाले तेल ढुवानीमाथि कडाइ बढाएको हो।
मदुरो पक्राउ हुनुअघि पनि अमेरिकाले क्यारेबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेका दुईवटा पानीजहाज नियन्त्रणमा लिएको थियो। यसपटक भने रूसी ध्वजाबाहक र पनामाको ध्वजावाहक दुईवटा ट्याङ्कर नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार हप्तौँसम्म चलेको खोजीपछि बुधबार बिहान अमेरिकी कोस्ट गार्ड र विशेष सैन्य बलले ‘मारिनेरा’ नामक कच्चा तेल बोकेको पानीजहाज नियन्त्रणमा लिएका हुन्। उक्त जहाजले अघिल्लो महिना निरीक्षण अस्वीकार गरेपछि आफ्नो पहिचान लुकाउन रूसी झन्डा प्रयोग गर्न थालेको रोयटर्सले उल्लेख गरेको छ।
त्यस्तै, बुधबार नै अमेरिकी कोस्ट गार्डले भेनेजुएलाको तेल बोकेको पनामाको ध्वजावाहक ‘एम सोफिया’ ट्याङ्कर पनि दक्षिण अमेरिकाको उत्तरपूर्वी तट नजिक नियन्त्रणमा लिएको छ। पछिल्ला केही हप्तामा यो चौथो नियन्त्रण कारबाही हो।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण अमेरिकी महादेशमा तेल आपूर्ति नियन्त्रण गर्ने र भेनेजुएलाको समाजवादी सरकारलाई अमेरिकी हितअनुकूल बनाउने आक्रामक नीतिअन्तर्गत यो कदम चालिएको बताइएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ती पानीजहाजहरूले ‘नक्कली रूपमा रूसी पहिचान प्रयोग गरी प्रतिबन्ध छल्न खोजेको’ दाबी गरेका छन्।
उक्त कारबाहीमा बेलायतको रोयल एयर फोर्स र एक सैन्य जहाजले पनि सहयोग गरेको बेलायती रक्षा सचिव जोन हिलीले बताएका छन्। कारबाहीका क्रममा रूसी पनडुब्बी तथा अन्य जहाजहरू नजिकै देखिएकाले रूससँग थप तनाव बढ्ने जोखिम रहेको बताइएको छ।
युक्रेन युद्धका कारण पश्चिमी मुलुकसँग पहिले नै तनावमा रहेको रूसले भेनेजुएला विषयमा अमेरिकी कदमको निरन्तर आलोचना गर्दै आएको छ। मस्कोको यातायात मन्त्रालयले अमेरिकी कारबाहीको निन्दा गर्दै रूसी नागरिकलाई सम्मानजनक व्यवहार गर्न र चाँडै घर फर्कन अनुमति दिन माग गरेको छ। मन्त्रालयले उक्त जहाजलाई अस्थायी रूपमा रूसी झन्डा प्रयोग गर्न अनुमति दिइएको दाबीसमेत गरेको छ।
चीनले पनि अमेरिकी कदमको विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भेनेजुएलामाथि बल प्रयोग गर्दै ‘अमेरिका फर्स्ट’ नीति थोपर्नु धम्की र दबाबको राजनीति भएको टिप्पणी गरेका छन्। चीन भेनेजुएलाको तेलको ठूलो आयातकर्ता हो।
ह्वाइट हाउसका उपप्रमुख स्टेफन मिलरले अमेरिकी कानुन र राष्ट्रिय सुरक्षासँग मेल खाने ऊर्जा ढुवानी मात्र स्वीकार्य हुने स्पष्ट पारेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलासँगको तेल सम्झौताबाट प्राप्त रकम अमेरिकी कृषि उत्पादन र औषधि खरिदमा प्रयोग गरिने बताएका छन्।
अमेरिकाको पछिल्लो कदमले विश्वका शक्ति राष्ट्रहरूबीच थप तनावको वातावरण सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस