Techie IT
२०८२ फागुन २०, बुधबार

ग्रिनल्यान्ड कब्जाको सैन्य योजना बनाउन ट्रम्पको निर्देशन!

उनीहरूका अनुसार राष्ट्रपतिको जिद्दी सम्हाल्नु भनेको पाँच वर्षको बच्चासँग व्यवहार गर्नुजस्तै हो


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने उद्देश्यले सैन्य योजना तयार गर्न निर्देशन दिएको खुलासा भएको छ। बेलायती ट्याब्लोइड डेली मेलका अनुसार ट्रम्पले यो जिम्मेवारी अमेरिकी जोइन्ट स्पेसल अपरेसन कमान्ड (JSOC) लाई सुम्पिएका हुन्। तर अमेरिकी सैन्य अधिकारीहरू यस योजनाप्रति सकारात्मक छैनन्। उनीहरूले यसलाई कानुनी रूपमा गलत र रणनीतिक रूपमा खतरनाक ठानेका छन्।

रिपोर्टका अनुसार ट्रम्पको यो चासो केवल विदेश नीति होइन, आन्तरिक राजनीतिसँग पनि गाँसिएको छ। यसै वर्षको अन्त्यमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले संसद्मा बहुमत गुमाउने डर बढिरहेको अवस्थामा ट्रम्पले ठूलो र विवादास्पद कदम चालेर जनताको ध्यान अर्थतन्त्र र मुद्रास्फीति जस्ता घरेलु समस्याबाट हटाउन खोजेको विश्लेषण गरिएको छ।

एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ, “अमेरिकी जनरलहरू ट्रम्पको ग्रिनल्यान्ड योजना बेतुक र गैरकानुनी ठानिरहेका छन् । उनीहरूका अनुसार राष्ट्रपतिको जिद्दी सम्हाल्नु भनेको पाँच वर्षको बच्चासँग व्यवहार गर्नुजस्तै हो ।”

यदि अमेरिकाले ग्रिनल्यान्डमाथि सैन्य कदम चालेमा त्यसले नेटो गठबन्धनमै गम्भीर संकट पैदा गर्ने चेतावनी युरोपेली कूटनीतिज्ञहरूले दिइसकेका छन् । ग्रिनल्यान्ड डेनमार्कको स्वायत्त क्षेत्र भएकाले त्यसमाथि आक्रमण हुनु भनेको नेटो सदस्य राष्ट्रमाथि नै आक्रमण मानिन सक्छ, जसले अमेरिका र युरोपेली देशहरूबीच प्रत्यक्ष टकराव निम्त्याउन सक्नेछ।

केही युरोपेली अधिकारीहरूका अनुसार ट्रम्प नजिकका कट्टरपन्थी गुटको वास्तविक लक्ष्य नेटोलाई भित्रैबाट कमजोर बनाउनु वा तोड्नु हो। संसद्ले अमेरिकालाई औपचारिक रूपमा नेटोबाट बाहिरिन अनुमति नदिने भएकाले ग्रिनल्यान्डजस्तो विवाद सिर्जना गरेर युरोपेली देशहरूलाई नै नेटो छोड्न बाध्य पार्ने रणनीति हुन सक्ने उनीहरूको दाबी छ।

समाचारमा भनिएको छ, “यदि ट्रम्प नेटो सिध्याउन चाहन्छन् भने ग्रिनल्यान्ड कब्जा गर्नु सबैभन्दा सजिलो तरिका हुन सक्छ।”

ट्रम्प किन नेटोविरुद्ध ?
रिपोर्टअनुसार ट्रम्प लामो समयदेखि नेटोलाई अमेरिकाका लागि बोझ ठान्दै आएका छन्। उनको बुझाइमा अमेरिकाले नेटोमा सबैभन्दा धेरै पैसा र सैन्य स्रोत खर्च गर्छ, जबकि धेरै युरोपेली देशहरूले आफ्नो जीडीपीको २ प्रतिशत रक्षा खर्च गर्ने प्रतिबद्धता पूरा गरेका छैनन्।

ट्रम्प अमेरिकी करदाताको पैसा विदेशी सुरक्षामा खर्चिन नचाहने र युरोपलाई आफ्नो सुरक्षा आफैँ गर्न बाध्य पार्नुपर्ने धारणा राख्दै आएका छन् । उनका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनका अनुसार ट्रम्प नेटोलाई “पुरानो र बोझिलो संस्था” ठान्छन् र यसलाई कमजोर बनाएर रूससँग सम्बन्ध सुधार्न चाहन्छन्।

यसअघि शुक्रबार ह्वाइट हाउसमा तेल तथा ग्यास कम्पनीका अधिकारीहरूसँगको बैठकमा ट्रम्पले ग्रिनल्यान्ड कब्जाको आवश्यकता राष्ट्रिय सुरक्षासँग जोडेर व्याख्या गरेका थिए। उनले भनेका थिए, “यदि अमेरिकाले ग्रिनल्यान्डमा कदम चालेन भने रूस र चीनजस्ता देशहरूले त्यहाँ आफ्नो प्रभाव बढाउनेछन्। हामी यस्ता देशहरूलाई छिमेकी बनेको देख्न सक्दैनौँ।”

ग्रिनल्यान्ड आसपास रूसी र चिनियाँ नौसेनाका डिस्ट्रोयर र पनडुब्बीहरूको गतिविधि बढेको दाबी गर्दै ट्रम्पले यो विषयलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा प्रस्तुत गरेका छन्। “म चाहन्छु कि सम्झौता सहज तरिकाले होस्,” ट्रम्पको भनाइ छ, “तर यदि त्यसो भएन भने हामीले कडा उपाय अपनाउनुपर्नेछ। उनीहरूलाई मन परोस् वा नपरोस्, ग्रिनल्यान्डको विषयमा हामी केही न केही गर्नेछौँ।”

डेनमार्कप्रति नरम भाषा प्रयोग गर्दै उनले आफू डेनमार्कको प्रशंसक भएको तर अमेरिकी राष्ट्रिय हितका लागि ग्रिनल्यान्डमा पूर्ण स्वामित्व आवश्यक रहेको दाबी पनि गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट