लिबियामा सामूहिक चिहान फेला: २१ आप्रवासीको हत्या गरिएको आशङ्का
लिबियाली अधिकारीहरूले उप–सहारा अफ्रिकाबाट आएका २१ जना आप्रवासीको शव रहेको एक सामूहिक चिहान फेला पारेका छन्।
सरकारी स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले उत्तरपूर्वी शहर अजदाबियामा आप्रवासीहरूको हत्या तथा अरूलाई बन्धक बनाएको आशङ्कामा एक लिबियाली नागरिकलाई पक्राउ गरिएको जनाएका छन्।
टेलिभिजन च्यानल अल–मसारका अनुसार लिबियाको पूर्वी क्षेत्रमा रहेको आन्तरिक सुरक्षा निकायले फार्म क्षेत्रमा फेला परेको सामूहिक चिहानबाट विभिन्न अफ्रिकी मुलुकका २१ नागरिकको शव बरामद गरेको हो। पूर्वी लिबियाका शक्तिशाली सैनिक नेता खलिफा हफ्तारसँग गठबन्धन रहेको उक्त च्यानलले फार्ममा छापा मार्ने क्रममा एक संदिग्धलाई पक्राउ गरिएको जनाएको छ।
स्वतन्त्र समाचार च्यानल अल–वासतका अनुसार ती व्यक्तिले फार्ममा आप्रवासीहरूलाई बन्धक बनाएर राखेका थिए। छापा मार्दा केही आप्रवासीको उद्धार गरिएको र उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर तथा भिडियोमा शवहरू एकै स्थानमा थुपारिएको र एक दर्जनभन्दा बढी शवका झोला जमिनमा राखिएको देखिन्छ। लिबिया युरोप पुग्न खोज्ने हजारौँ आप्रवासीहरूको प्रमुख ट्रान्जिट देश मानिन्छ, जहाँ आप्रवासीहरूको मृत्यु र दुर्व्यवहारका घटना बारम्बार सार्वजनिक हुँदै आएका छन्।
सन् २०११ मा नेटो समर्थित विद्रोहपछि लामो समयदेखि सत्तामा रहेका मोहमर गद्दाफी सत्ताच्युत भएपछि लिबिया गहिरो राजनीतिक अस्थिरतामा फसेको छ। हाल देश पूर्वमा खलिफा हफ्तार समर्थित प्रशासन र पश्चिममा संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त सरकारबीच विभाजित छ।
यस अस्थिर अवस्थाको फाइदा उठाउँदै मानव तस्कर र लागुऔषध तस्करहरू सक्रिय बनेको भन्दै आप्रवासी अधिकारकर्मी समूहहरूले लिबियाको लगातार आलोचना गर्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस