ग्रीनल्यान्ड मुद्दामा ट्रम्प पछि हटे, युरोपमाथि ट्यारिफ नलगाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डका विषयमा युरोपेली देशहरूमाथि ट्यारिफ लगाउने धम्कीबाट पछि हटेका छन्। ट्रम्पले अब डेनमार्कसहित कुनै पनि युरोपेली देशमाथि ग्रीनल्यान्डका कारण ट्यारिफ नलगाइने स्पष्ट पारेका छन्।
यसअघि ग्रीनल्यान्डसम्बन्धी आफ्ना माग पूरा नभए युरोपमाथि आर्थिक दबाब सिर्जना गर्ने संकेत दिएका ट्रम्पले हाल आफ्नो अडान परिवर्तन गर्दै त्यस्तो कदम नचाल्ने बताएका हुन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे घोषणा गरेका हुन्।
स्वीट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) लाई सम्बोधन गर्ने क्रममा ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्न सैन्य शक्ति प्रयोग गर्ने अभिव्यक्तिबाट पछि हटेको बताएका थिए। तर, उनले आफ्नो लक्ष्य अझै पनि ग्रीनल्यान्ड हासिल गर्नु नै रहेको स्पष्ट पारे।
“म ग्रीनल्यान्ड पूर्ण अधिकार, स्वामित्व र नियन्त्रणसहित चाहन्छु,” ट्रम्पले भने, “तर त्यसका लागि बल प्रयोग गर्ने छैन।”
सम्बोधनका क्रममा ट्रम्पले युरोपेली देशहरू र नेटोमाथि पनि कडा टिप्पणी गरे। दोस्रो विश्वयुद्ध र त्यसपछि पनि अमेरिकाले युरोपलाई बचाएको दाबी गर्दै उनले भने, “दशकौँदेखि हामीले उनीहरूलाई दिएको सहयोगको तुलनामा ग्रीनल्यान्डको माग धेरै सानो हो।”
ग्रीनल्यान्डबारे विवादास्पद टिप्पणी गर्दै ट्रम्पले उक्त क्षेत्र चिसो र बसोबासका लागि अनुकूल नभएको बताए। तर, अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्यान्ड अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ। भविष्यमा आर्कटिक क्षेत्र रणनीतिक रूपमा झनै महत्त्वपूर्ण हुने भएकाले ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण आवश्यक रहेको उनको तर्क छ।
ट्रम्पले आफूले चाहेमा बल प्रयोग गरेर ग्रीनल्यान्ड हासिल गर्न सक्ने दाबी पनि गरे। “यदि मैले अत्यधिक शक्ति प्रयोग गरेँ भने हामीलाई कसैले रोक्न सक्दैन,” उनले भने, “तर म त्यसो गर्ने छैन। मलाई त्यसको आवश्यकता छैन र म चाहन्नँ पनि।”
उनले अमेरिकाको विस्तारवादी उद्देश्यमा नेटोले बाधा पुर्याउन नहुने चेतावनीसमेत दिए।
खुलेआम अर्को देशको भूभाग आफ्नो नियन्त्रणमा लिन चाहेको स्पष्ट अभिव्यक्ति कुनै अमेरिकी राष्ट्रपतिबाट सार्वजनिक रूपमा आएको यो पहिलो घटना मानिएको छ।
(बीबीसी)



तपाईको प्रतिक्रिया दिनुहोस