बलुचिस्तानमा ४० घन्टा रक्तपात: सुरक्षाबल–पृथकतावादी भिडन्तमा १९५ को मृत्यु
इरान र अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको बलुचिस्तान प्रान्तमा सरकारी सुरक्षाबल र पृथकतावादी लडाकू समूहबीच झण्डै ४० घन्टा लगातार भिडन्त भएको छ।
शुक्रबार र शनिबार दुई दिनसम्म चलेको संघर्षमा १४५ जना लडाकू मारिएको बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्तीले जानकारी दिएका छन्। उनका अनुसार सुरक्षाकर्मी र सर्वसाधारण गरी कम्तीमा ५० जनाको ज्यान गएको छ।
पाकिस्तानी सुरक्षाबलले छोटो अवधिमा यति ठूलो संख्यामा लडाकू मारिएको यो पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक कारबाही भएको जनाएको छ।
गृह राज्यमन्त्री तलाल चौधरीका अनुसार आक्रमणकारीहरू सर्वसाधारणको भेषमा अस्पताल, विद्यालय, बैंक र बजारभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उनले लडाकूहरूले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गरेको आरोपसमेत लगाए।
प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले घटनाको जिम्मा लिँदै यसलाई ‘हेरोफ’ वा ‘ब्ल्याक स्टर्म’ नाम दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
क्वेटा, ग्वादर, मस्तुङ र नोश्की जिल्लामा एकैसाथ आक्रमण हुँदा फ्रन्टियर कोरको मुख्यालयसहितका सुरक्षा प्रतिष्ठान निशानामा परेका थिए। कतिपय स्थानमा आत्मघाती आक्रमणको प्रयास र सडक अवरोधसमेत गरिएको थियो, जसपछि सेना, प्रहरी र विशेष लडाकू इकाइले ठूलो स्तरको प्रत्याक्रमण सञ्चालन गरेका थिए।
क्वेटा शहरमा आक्रमणपछिको अवस्था झल्किने गरी जलेका सवारीसाधन, गोलीले छेडिएका भवनका ढोका र पहेँलो टेपले बन्द गरिएका सडक देखिएका छन्। सुरक्षा व्यवस्था कडा पारिँदा आवागमनसमेत सीमित गरिएको छ।
बीएलएले ८४ जना सुरक्षाकर्मी मारिएको र १८ जनालाई नियन्त्रणमा लिएको दाबी गरेको छ। तर सेनाले कुनै पनि शहर वा रणनीतिक प्रतिष्ठान कब्जा गर्ने प्रयास असफल पारिएको जनाएको छ।
रक्षामन्त्री ख्वाजा आसिफले दुई आक्रमणमा महिला संलग्न रहेको र पछिल्ला दिनमा लडाकूहरूले श्रमिक तथा न्यून आय भएका समुदायलाई बढी निशाना बनाइरहेको बताएका छन्।
बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर आर्थिक रूपमा कमजोर प्रान्त हो। यो दशकौँदेखि स्वायत्तता र प्राकृतिक स्रोतमा बढी हिस्सा माग्दै आएको जातीय बलुच पृथकतावादी विद्रोहको केन्द्र रहँदै आएको छ।
यसबीच पाकिस्तानी सेनाले आक्रमण भारत प्रायोजित भएको आरोप लगाएको छ। भारतले उक्त आरोप अस्वीकार गर्दै इस्लामाबादले आन्तरिक समस्याबाट ध्यान मोड्न खोजेको प्रतिक्रिया दिएको छ। अमेरिकाले आक्रमणको निन्दा गर्दै पाकिस्तानसँग ऐक्यबद्धता जनाएको छ भने बीएलएलाई विदेशी आतंकवादी संगठनको सूचीमा राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस