यसरी मारिएका थिए इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेई
इरानको सरकारी समाचार एजेन्सी फार्स समाचार एजेन्सीले सर्वोच्च नेता आयातुल्ला अली खामेनेईको हत्याबारे थप विवरण सार्वजनिक गरेको दाबी गरेको छ। एजेन्सीका अनुसार खामेनेई शनिबार बिहान सबेरै आफ्नै कार्यालयमा “तोकिएको जिम्मेवारी निर्वाह गरिरहेकै बेला” मारिएका हुन्।
समाचारमा जनाइएअनुसार इजरायली सेनाले खामेनेईको निवासमा करिब ३० वटा बम खसालेको दाबी गरिएको छ, जसका कारण भवन पूर्ण रूपमा ध्वस्त भएको उल्लेख छ।
द वाल स्ट्रिट जर्नलका अनुसार इजरायल र अमेरिकाका गुप्तचर एजेन्सीहरू लामो समयदेखि इरानका शीर्ष नेताहरू एउटै बैठकमा उपस्थित हुने अवसरको खोजीमा थिए। शनिबार बिहान यस्तो अवसर प्राप्त भएको र तीन महत्वपूर्ण बैठकको सूचना फेला परेको बताइएको छ। तीमध्ये एक बैठकमा खामेनेई सहभागी रहेको इजरायली स्रोतको दाबी छ।
रिपोर्टअनुसार उक्त अवसरलाई रणनीतिक रूपमा महत्वपूर्ण ठानी सोही दिन आक्रमण गरिएको थियो।
यसैबीच सिबियस न्युजलाई उद्धृत गर्दै करिब ४० जना वरिष्ठ इरानी अधिकारी मारिएको दाबी गरिएको छ। मारिनेमा खामेनेईका निकट सल्लाहकार अली शमखानी, रिभोल्युसनरी गार्डका कमाण्डर मोहम्मद पाकपुर तथा रक्षा मन्त्री अजीज नसीरजादेह रहेको उल्लेख गरिएको छ।
इजरायली मिडिया ‘वाईनेट’ र सीबीएस न्यूजले गुप्तचर तथा सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त जानकारी सार्वजनिक गरेका हुन्। तर ती सबै अधिकारी एउटै स्थानमा थिए वा फरक–फरक स्थानमा भन्ने विषय स्पष्ट नभएको जनाइएको छ।
यद्यपि, यी दाबीहरूबारे इरानी सरकारी पक्षबाट आधिकारिक पुष्टि वा विस्तृत प्रतिक्रिया आइसकेको छैन। घटनाबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस