Techie IT
२०८२ चैत्र १७, मंगलबार

रुसको तेल ‘मेरुदण्ड’मै युक्रेनको प्रहार: प्रमुख बन्दरगाह ठप्प, विशाल आगलागीले निर्यात प्रणाली ध्वस्त

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता लगातार दुई दिनसम्म रुसी तेल निर्यात ठप्प भएको यो पहिलो घटना हो।


युक्रेनले रुसको अर्थतन्त्रको मेरुदण्ड मानिने तेल निर्यात पूर्वाधारमाथि शृङ्खलाबद्ध आक्रमण तीव्र बनाएको छ। स्याटेलाइट तस्बिर र प्रमाणित भिडियोहरूले देखाएअनुसार युक्रेनी सेनाले विगत एक हप्तामा बाल्टिक सागर आसपासका प्रमुख रुसी तेल सुविधाहरूलाई लक्षित गरेको छ, जसका कारण कयौँ प्लान्टहरूमा अझै आगो बलिरहेको छ।

बीबीसी भेरिफाइका अनुसार सेन्ट पिटर्सबर्ग नजिकैको लेनिनग्राद क्षेत्रमा रहेका कम्तीमा तीन ठूला तेल केन्द्रहरूमा मार्च २३ यता भीषण आक्रमण भएको पुष्टि भएको छ। युक्रेनी सीमाबाट करिब ८०० किलोमिटर उत्तरमा रहेका उस्त-लुगा र प्रिमोरस्क बन्दरगाह तथा किरिसी तेल रिफाइनरी मुख्य निशानामा परेका हुन्।

फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरको तथ्याङ्कअनुसार सन् २०२५ मा रुसको कुल तेल निर्यातमध्ये २२ प्रतिशत प्रिमोरस्क र २० प्रतिशत उस्त-लुगा बन्दरगाहबाट हुँदै आएको थियो। युक्रेनी आक्रमणको प्रभाव यति गहिरो परेको छ कि मार्च २६ र २७ मा यी तीनवटै बाल्टिक बन्दरगाहबाट एउटा पनि जहाजमा तेल लोड हुन सकेन।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता लगातार दुई दिनसम्म रुसी तेल निर्यात ठप्प भएको यो पहिलो घटना हो। स्याटेलाइट तस्बिरहरूले प्रिमोरस्क र उस्त-लुगा क्षेत्रका तेल भण्डारण ट्याङ्कहरूबाट बाक्लो धुवाँ निस्किरहेको र किरिसी रिफाइनरीमा व्यापक क्षति पुगेको देखाएका छन्।

विश्लेषणअनुसार प्रिमोरस्कमा कम्तीमा आठ, उस्त-लुगामा आठ र किरिसी रिफाइनरीमा दुईवटा भण्डारण ट्याङ्क पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन्। नासाको एफआइआरएमएस प्रविधिले सोमबार बिहानसम्म पनि प्रिमोरस्क र उस्त-लुगा क्षेत्रमा आगलागी जारी रहेको संकेत दिएको छ।

यद्यपि लेनिनग्रादका गभर्नर अलेक्जेन्डर ड्रोज्देन्कोले आइतबार नै आगो नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए। तर सार्वजनिक भएका भिडियोहरूले अझै पनि आकाशमा बाक्लो धुवाँ देखाइरहेका छन्, जसले सरकारी दाबीमाथि प्रश्न उठाएको छ।

युक्रेनी सैन्य ड्रोन फोर्सका कमाण्डर रोबर्ट ब्रोभ्दीले मार्च २३ देखि २८ बीच यी तेल निर्यात केन्द्रहरूलाई लक्षित गरी विशेष अपरेसन सञ्चालन गरिएको पुष्टि गरेका छन्। उनका अनुसार आक्रमणको मुख्य उद्देश्य रुसको तेल प्रशोधन क्षमता र कच्चा तेल निर्यात पूर्वाधारलाई कमजोर पार्नु हो।

युक्रेनी सेनाले किरिसी रिफाइनरीलाई रुसका तीन प्रमुख तेल प्रशोधन केन्द्रमध्ये एक बताउँदै यसले रुसी सैन्य अभियानका लागि आवश्यक इन्धन उत्पादन गर्दै आएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट