Techie IT
२०८३ असोज ११, आइतबार

मुगु-हुम्ला सीमामा जडीबुटी विवादले झडपपछि एकको मृत्यु


मुगुको मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पर्ने मिमी सामुदायिक वनमा भएको झडपपछि भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

जडीबुटी संकलनका क्रममा भएको झडपपछि बेपत्ताहरूको खोजी गरिदिन गाउँपालिकाले आइतबार जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेसँगै घटना बाहिर आएको हो। उनीहरू गत असोज २ गते जडीबुटी संकलनका लागि घरबाट निस्किएका थिए।

मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार जडीबुटी संकलनका लागि गएका १३ जनामध्ये हालसम्म १० जना सम्पर्कमा आएका छन्। मुगुम कार्मारोङ र हुम्लाको चंखेली गाउँपालिकाको सीमा क्षेत्रमा रहेको मिमी सामुदायिक वनमा जडीबुटी संकलन गर्ने क्रममा स्थानीयबीच झडप भएको थियो। सोही झडपपछि भाग्ने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको प्रजिअ भण्डारीले बताएका छन् ।

जडीबुटी संकलनका लागि १३ जना स्थानीय वन क्षेत्रमा गएका थिए। उनीहरू चंखेली गाउँपालिका–२ को वन क्षेत्र हुँदै कार्मारोङ गाउँपालिका–७ को मिमी वन क्षेत्रतर्फ पुगेको बुझिएको छ। उक्त क्षेत्रमा दुवै पक्षका स्थानीय बासिन्दाबीच वनको सीमालाई लिएर विवादसमेत रहँदै आएको छ ।

प्रजिअ भण्डारीले भने, “जडीबुटी संकलनका क्रममा दुवै पक्षका स्थानीय आमनेसामने भएपछि विवाद भयो। त्यसपछि भागेर फर्किने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको जानकारी आएको छ।”

घटनापछि सुरुमा ९ जना सम्पर्कविहीन रहेको खबर आए पनि खोजीका क्रममा सात जना सम्पर्कमा आइसकेका छन्। हाल दुई जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

बेपत्ताहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगु र जिल्ला प्रशासन कार्यालय हुम्लाबीच आवश्यक समन्वय भइरहेको छ। दुवैतर्फबाट खोजी कार्य तीव्र पारिएको प्रशासनले जनाएको छ। मृतकको शव घटनास्थलबाट तल झारिसकिएको छ भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट