सम्झौताबिनै फर्कियो अमेरिकी टोली: इरानले अस्वीकार गर्यो ‘अन्तिम प्रस्ताव’
इस्लामावादमा इरानसँग वार्ताका लागि पुगेको अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डल कुनै सम्झौता बिना नै स्वदेश फर्किएको छ। उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली वार्ता निष्कर्षविहीन बनेपछि फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
द न्यूयोर्क टाइम्सका अनुसार भान्स सवार ‘एयरफोर्स टु’ इस्लामावादबाट उडान भर्ने तयारीमा रहेको थियो। इस्लामावाद छाड्नुअघि होटल सेरेनामा सञ्चारकर्मीसँग संक्षिप्त ब्रिफिङ गर्दै उनले वार्तामा कुनै ठोस सहमति हुन नसकेको स्पष्ट पारे।
भान्सले इरानी पक्ष अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताए। “हामीले आफ्ना ‘रेड लाइन’ स्पष्ट रूपमा राख्यौं, कहाँसम्म लचिलो हुन सक्छौं भन्ने पनि भन्यौं, तर उनीहरूले ती सर्त स्वीकार गरेनन्,” उनले भने। यद्यपि कुन सर्तमा असहमति भएको हो भन्नेबारे उनले खुलाएनन्।
उनका अनुसार अमेरिका आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ छाडेर फर्किएको छ । उनले वार्तालाई पूर्ण रूपमा असफल भने घोषणा नगरे पनि सहमतिको सम्भावना तत्कालका लागि टरेको संकेत दिएका छन्।
वार्ताका क्रममा उनले डोनाल्ड ट्रम्प सँग पटक–पटक फोनमा छलफल गरेका थिए। अमेरिकी टोलीमा विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर पनि सहभागी थिए।
इरानी पक्षबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची सहभागी भएका थिए। दुवै पक्ष आफ्ना अडानमा अडिग रहेपछि बहुप्रतीक्षित वार्ता तत्कालका लागि निष्कर्षविहीन बनेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस