Techie IT
२०८२ चैत्र २९, आइतबार

अमेरिका–इरान वार्ता निष्कर्षविहीन, परमाणु मुद्दाको अडानले टुट्यो सम्झौता

वार्तामा ‘हर्मुज जलसन्धि’ मा बढ्दो सैन्य तनाव र रणनीतिक अवरोध प्रमुख बाधक बनेको जनाइएको छ।


पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरान बीचको बहुप्रतीक्षित शान्ति वार्ता कुनै ठोस सहमति बिना टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेपछि वार्ता निष्कर्षविहीन बनेको हो।

अमेरिकी टोलीको नेतृत्व गरिरहेका उपराष्ट्रपति जेडी भान्स ले इरानले परमाणु कार्यक्रमबारे कुनै स्पष्ट प्रतिबद्धता नजनाएको बताएका छन्। “हामीले हाम्रो तर्फबाट अन्तिम र उत्कृष्ट प्रस्ताव राखिसकेका छौँ, अब निर्णय इरानकै हातमा छ,” उनले सञ्चारकर्मीसँग भने।

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको परमाणु क्षमता पूर्ण रूपमा नियन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको दोहोर्‍याएको छ। भान्सका अनुसार, “इरानले कहिल्यै परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदिएसम्म कुनै सम्झौता सम्भव छैन।”

वार्तामा ‘हर्मुज जलसन्धि’ मा बढ्दो सैन्य तनाव र रणनीतिक अवरोध प्रमुख बाधक बनेको जनाइएको छ। यद्यपि इरानी सञ्चारमाध्यमहरूले वार्ता अर्को चरणमा पनि जारी रहने संकेत दिएका छन्।

अमेरिकी टोलीमा जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए। वार्ता विफल भए पनि पाकिस्तान को मध्यस्थकर्ताको भूमिकाको अमेरिकाले प्रशंसा गरेको छ।

उता, इरानको विदेश मन्त्रालयले अमेरिकामाथि ‘अत्यधिक र गैरकानुनी माग’ राखेको आरोप लगाउँदै आफ्नो राष्ट्रिय हित र अधिकारमा सम्झौता नगर्ने स्पष्ट पारेको छ। दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहेपछि मध्यपूर्वको तनाव समाधान गर्ने यो महत्त्वपूर्ण प्रयास अहिलेलाई असफल भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट