सीमा विवाद फेरि चर्कियो: आफ्नो भूमिमा चीनले नाम फेरेको भन्दै भारतको कडा आपत्ति
भारतले आफ्नो भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने चीनको प्रयासप्रति कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले यस्तो कदमलाई ‘मनगढन्ते र अस्वीकार्य’ भन्दै तत्काल रोक्न आग्रह गरेको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै चीनका यस्ता प्रयासलाई पूर्ण रूपमा अस्वीकार गरिएको स्पष्ट पारेका थिए । “भारतभित्र पर्ने क्षेत्रलाई चीनले मनगढन्ते नाम दिन खोज्नु दुष्ट प्रयास हो,” उनले भने।
मन्त्रालयले जारी गरेको वक्तव्यमा अरुणाचल प्रदेश लगायतका क्षेत्र सधैं भारतको अभिन्न अंग रहेको र भविष्यमा पनि रहने अडान दोहोर्याइएको छ। साथै चीनका यस्ता गतिविधिले दुई देशबीच सम्बन्ध सुधार गर्ने प्रयासलाई कमजोर बनाउने चेतावनी पनि दिइएको छ।
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार चीनले आफ्नो शिनजियांग क्षेत्रमा, पाकिस्तान प्रशासित कश्मीर र अफगानिस्तान सीमाना नजिक ‘सेनलिङ’ नामक नयाँ जिल्ला स्थापना गरेको छ। काराकोरम पर्वतमाला आसपास पर्ने उक्त क्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।
यसअघि पनि चीनले ‘हीन’ र ‘हेकाङ’ जिल्लाको घोषणा गर्दा भारतले आपत्ति जनाएको थियो। विशेषगरी अक्साई चिन क्षेत्र, जसलाई चीनले सन् १९६२ को भारत–चीन युद्ध पछि नियन्त्रणमा लिएको थियो, अझै पनि दुई देशबीचको प्रमुख विवादको विषय बनेको छ।
भारतले चीनलाई यस्ता एकपक्षीय गतिविधिबाट टाढा रहन र आपसी समझदारी कायम गर्न आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस