Techie IT
२०८३ वैशाख ६, आइतबार

हर्मुजमा फेरि इरानको कडा नियन्त्रण, विश्व तेल आपूर्ति जोखिममा


इरानले रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा पुनः कडा नियन्त्रण लागू गरेको दाबी गरेको छ । यसले विश्व ऊर्जा आपूर्तिमा पुनः अनिश्चितता थपेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का अनुसार हर्मुज हुँदै हुने जहाजहरूको आवतजावतमा कडाइ गरिएको छ। कतारी सञ्चारमाध्यम अल जजिराले जनाएअनुसार अमेरिकाले नाकाबन्दीमार्फत “समुद्री डकैती” गरेको आरोप लगाउँदै इरानले जलमार्गलाई पुनः कडाइका साथ नियन्त्रणमा ल्याएको दाबी गरेको हो।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जबसम्म अमेरिकाले इरानतर्फ आउने–जाने जहाजहरूलाई पूर्ण स्वतन्त्रता दिँदैन, स्ट्रेट अफ हर्मुज कडा नियन्त्रणमै रहनेछ।” अमेरिकी कदमकै कारण आवतजावतलाई कडाइका साथ नियन्त्रित गर्नुपरेको इरानको भनाइ छ।

यसैबीच, आईआरजीसीले अमेरिका, इसराइल र संयुक्त अधिराज्यसँग सम्बन्धित जासुसी सञ्जालहरू विघटन गरेको दाबी गरेको छ। ती सञ्जालहरू पूर्वी अजरबैजान, केरमान र माजन्दरान प्रान्तमा सक्रिय रहेको र अशान्ति फैलाउने उद्देश्य रहेको आरोप लगाइएको छ।

इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले पनि अमेरिकी नाकाबन्दी अस्वीकार गर्दै अन्य देशमाथि आदेश चलाउने अमेरिकाको युग समाप्त हुनुपर्ने बताएका छन्।

यद्यपि केही तेल ट्यांकरहरू हर्मुज हुँदै आवतजावत गर्न थालेका छन्। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार शनिबार कम्तीमा ८ वटा ट्यांकर उक्त जलमार्ग पार गरिरहेका थिए, जुन युद्ध सुरु भएयताकै पहिलो ठूलो आवागमन हो। तर इरानले पुनः कडा नियन्त्रण लागू गरेपछि यो क्रम निरन्तर रहने वा नहुनेबारे अन्योल कायम रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले यहाँको अवरोधले विश्व बजारमा ठूलो असर पार्ने गरेको छ।

यसअघि शुक्रबार इरानी विदेशमन्त्री अब्बास अराग्चीले लेबनानमा भएको युद्धविराम अवधिभर हर्मुज पूर्ण रूपमा खुला गरिएको घोषणा गरेका थिए। उनले सामाजिक सञ्जाल एक्समार्फत सबै व्यावसायिक जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइएको बताएका थिए।

इरानको उक्त घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत धन्यवाद व्यक्त गरेका थिए। तर पछिल्लो कडा नियन्त्रणले पुनः तनाव बढाएको छ।

अमेरिका–इसराइल र इरानबीच जारी युद्धका कारण हर्मुज जलमार्ग विश्व कूटनीतिक र आर्थिक तनावको केन्द्र बनेको छ। फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि खाडी क्षेत्रमा सयौं ट्यांकर र झण्डै २० हजार नाविक प्रभावित भएका छन्।

अप्रिल ८ देखि दुई साताको युद्धविराम लागू भए पनि दीर्घकालीन समाधान अझै अनिश्चित छ। अमेरिकी राष्ट्रपति ट्रम्पले दीर्घकालीन सम्झौता नभए युद्धविराम अन्त्य हुन सक्ने र आक्रमण पुनः सुरु हुन सक्ने चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट