मालीमा भीषण आत्मघाती हमला, रक्षामन्त्री कामारासहित परिवारका सदस्यको हत्या
पश्चिम अफ्रिकी देश मालीमा भएको भीषण आत्मघाती ट्रक बम आक्रमणमा रक्षामन्त्री साडियो कामाराको मृत्यु भएको छ ।
विविसीका अनुसार राजधानी बमका नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहले संयुक्त आक्रमण गरेका थिए । उक्त आक्रमणमा रक्षामन्त्री कामारासहित उनका परिवारका तीन सदस्यको पनि ज्यान गएको पुष्टि भएको छ ।
सरकारी टेलिभिजनले समेत कामाराको मृत्युको पुष्टि गरिसकेको छ । आक्रमणपछि विद्रोहीहरूले सैन्य जुन्ताका प्रमुख आसिमी गोइटाको घरलाई समेत निशाना बनाएका थिए । सुरक्षाका कारण उनलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
अल–कायदासँग आबद्ध जिहादी समूह र तुआरेग पृथकतावादी समूह Front de Libération de l'Azawad (एफएलए) ले देशका विभिन्न क्षेत्रमा एकैसाथ ठूला आक्रमण गरेका हुन् ।
विद्रोहीहरूले उत्तरी सहर किडालमा माली सेनालाई सहयोग गरिरहेका रुसी भाडाका सैनिकहरू पछि हट्न सहमत भएको दाबी गरेका छन् । साथै, एफएलएले किडाल सहर पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको घोषणा गरेको छ ।
सरकारले देशभर उच्च सतर्कता अपनाउँदै राजधानी बामाकोसहित विभिन्न क्षेत्रमा रात्रिकालीन कर्फ्यु जारी गरेको छ ।
सन् २०२० मा सैन्य कू मार्फत सत्ता कब्जा गरेको मालीको जुन्ता सरकारले सुरक्षा सुधार गर्ने प्रतिबद्धता जनाए पनि पछिल्ला वर्षहरूमा विद्रोही हिंसा झन् चर्किँदै गएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस