ममतालाई हराउने 'किङमेकर' चन्द्रनाथ रथको हत्या: बंगालमा फेरि सुरु भयो गुन्डा राजनीति
कोलकाता नजिकैको मध्यमग्राममा बुधबार राति भारतीय जनता पार्टी (बीजेपी) का प्रभावशाली नेता शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ। हालै सम्पन्न चुनावमा ममता बनर्जीलाई पराजित गरेका अधिकारीका मुख्य सहयोगीको हत्याले पश्चिम बंगालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।
विधानसभा पास भएको गाडीमा सवार ४१ वर्षीय रथमाथि नजिकैबाट गोली प्रहार गरिएको थियो। प्रहरीका अनुसार हत्यामा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ, तर त्यसमा प्रयोग गरिएको नम्बर प्लेट नक्कली भेटिएको छ। घटनास्थलबाट जीवित कारतुस समेत बरामद भएको छ। राज्यका डीजीपी सिद्ध नाथ गुप्ताले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएका छन्।
बीजेपीले यसलाई 'सुनियोजित राजनीतिक हत्या' को संज्ञा दिएको छ। शुभेन्दु अधिकारीले यसलाई तृणमूल कांग्रेस (टीएमसी) को १५ वर्षे 'महाजंगलराज' को परिणाम भएको आरोप लगाएका छन्। "यो २-३ दिनदेखिको रेकीपछि गरिएको योजनाबद्ध हत्या हो," अधिकारीले भने। यता टीएमसीले भने घटनाको निन्दा गर्दै सत्यतथ्य बाहिर ल्याउन अदालतको निगरानीमा सीबीआई अनुसन्धानको माग गरेको छ।
को थिए चन्द्रनाथ रथ?
भारतीय वायु सेनामा दुई दशक सेवा गरेर स्वेच्छिक अवकाश लिएका रथ शुभेन्दु अधिकारीका सबैभन्दा भरपर्दो रणनीतिकार मानिन्थे। रामकृष्ण मिशनका विद्यार्थी रहेका उनी पर्दापछाडि बसेर राजनीतिक र प्रशासनिक समन्वय मिलाउन पोख्त थिए। भवानीपुरको चुनावी अभियानमा अधिकारीको जित सुनिश्चित गर्न रथको ठुलो भूमिका रहेको बताइन्छ।
चुनावपछि चर्किएको हिंसाको चपेटामा शुभेन्दुका निकटस्थ नै परेपछि पश्चिम बंगालमा सुरक्षा चुनौती थपिएको छ। बीजेपीले टीएमसीका कार्यकर्ताहरूले भेष बदलेर हिंसा फैलाइरहेको आरोप लगाएको छ भने राज्यभर तनावपूर्ण शान्ति छाएको छ। सन् २०२७ को राजनीतिक मार्गचित्र कोरिँदै गर्दा भएको यो हत्याले भविष्यमा राजनीतिक मुठभेड अझ बढ्ने सङ्केत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस