इरान–अमेरिका वार्ता भङ्ग: मध्यपूर्वको युद्ध रोक्ने प्रयास थप सङ्कटमा
लेबनानमा इजरायलले बढाउँदै लगेको सैन्य आक्रमणको विरोधमा इरानले अमेरिकासँगको उच्चस्तरीय संवाद स्थगन गरेको छ। इरानको यो कडा कदमले विगत तीन महिनादेखि जारी मध्यपूर्वको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासलाई थप जटिल मोडमा पुर्याइदिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमका अनुसार इरानी वार्ता टोलीले मध्यस्थकर्ता (ओमान) मार्फत वासिङ्टनसँग हुँदै आएको संवाद तथा अप्रत्यक्ष सन्देश आदानप्रदान तत्कालका लागि रोक्ने निर्णय गरेको हो।
इरानी संसद्का सभामुखको चेतावनी: युद्धमै उत्रिन सक्छौँ
यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले लेबनानमा इजरायली आक्रमण जारी रहे आफूहरू सैन्य रूपमै प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्। "विगत दुई दिनदेखि हामीले इजरायली आक्रमण रोक्न गम्भीर कूटनीतिक प्रयास गरिरहेका छौँ," गालिबाफले भने, "यदि यी अपराधहरू यसरी नै जारी रहे हामी वार्ता प्रक्रिया मात्र स्थगन गर्ने छैनौँ, इजरायलविरुद्ध सिधै मैदानमा खडा हुनेछौँ।"
उनले इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने कुनै पनि भावी सम्झौता भए त्यसमा लेबनानसहित सबै मोर्चामा आक्रमण रोक्ने पूर्ण ग्यारेन्टी समावेश हुनुपर्ने अडानसमेत राखेका छन्।
इरानी विदेश मन्त्रालयले पनि सोमबार एक विशेष विज्ञप्ति जारी गर्दै लेबनानमा भइरहेको युद्धविराम उल्लङ्घन र सर्वसाधारणमाथिको आक्रमणका निम्ति इजरायलको मुख्य सहयोगी अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाएको छ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल' मार्फत आफूले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू र हिजबुल्लाहका प्रतिनिधिसँग सिधा संवाद गरेको दाबी गरेका छन्। तनाव कम गर्ने प्रयास भइरहेको सङ्केत गर्दै ट्रम्पले अब बेरुततर्फ थप कुनै पनि सैनिक नपठाइने उल्लेख गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस