नेतृत्वमा कुनै फुट छैन: इरानी उपराष्ट्रपति रेजा
युद्धविरामको मस्यौदालाई लिएर इरानी सेना र शीर्ष नेतृत्वबिच गम्भीर मतभेद रहेको भनी अमेरिकी सञ्चारमाध्यमले गरेको दाबीलाई इरानले पूर्ण रूपमा खण्डन गरेको छ। इरानी प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरिफले अमेरिकी मिडियाका ती रिपोर्टहरू 'अपूर्ण र भ्रामक' भएको भन्दै आइतबार उक्त दाबीलाई ठाडै अस्वीकार गरेका हुन्।
अमेरिकी दाबीलाई अफवाहको संज्ञा दिँदै उपराष्ट्रपति आरिफले इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (IRNA) सँग भने, “मुलुकका सबै वरिष्ठ अधिकारीहरू र सैन्य नेतृत्व वार्ताको प्रस्तावमा ‘पूर्ण रूपमा एकताबद्ध’ छन्। मस्यौदा वार्ता वा रणनीतिक विषयमा नेतृत्वबिच कुनै पनि प्रकारको मतभेदको सम्भावना छैन।”
इरानको भन्सार प्रशासनको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै आरिफले अमेरिकासँगको अप्रत्यक्ष वार्तामा तेहरानले अत्यन्त स्पष्ट, ठोस र समन्वयात्मक रणनीति अपनाएको स्पष्ट पारे। उनले थपे, “इरानको वार्ता टोली र शीर्ष नेतृत्व एउटै नीतिमा अडिग छन् र सबै अधिकारीहरूले यसलाई पूर्ण समन्वयका साथ पालना गरिरहेका छन्।”
अमेरिका र इरानबिच जारी कूटनीतिक रस्साकस्सी र अप्रत्यक्ष वार्ताको पृष्ठभूमिमा उपराष्ट्रपतिको यस्तो कडा टिप्पणी आएको हो। विशेष गरी अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणपछि सुरु भएको सैन्य तनाव र युद्धको व्यवस्थापनबारे टिप्पणी गर्दै आरिफले भने, “इरानले हालैका द्वन्द्व र सङ्कट व्यवस्थापनका क्रममा महत्त्वपूर्ण अनुभव र पाठ हासिल गरेको छ। यी अनुभवहरूले देशको निर्णय क्षमता र राष्ट्रिय रणनीतिलाई थप बलियो बनाएका छन्।”
तेहरानले आफ्नो सैन्य कमाण्ड र राजनीतिक नेतृत्वबिच कुनै पनि असमझदारी नरहेको प्रष्ट पार्दै अमेरिकी मिडियाले मनोवैज्ञानिक युद्ध (साइकोलोजिकल वारफेयर) छेड्न खोजेको आरोप समेत लगाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस