अमेरिका र इरानबिच ऐतिहासिक सम्झौतामा हस्ताक्षर भइसक्यो - राष्ट्रपति ट्रम्प
लामो समयको तीव्र तनाव र कूटनीतिक रस्साकस्सीका बिच अमेरिका र इरान ऐतिहासिक सम्झौताको बिन्दुमा आइपुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको बहुप्रतीक्षित सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको खुलासा गरेका हुन् ।
फ्रान्सको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले सोमबार फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँगको द्विपक्षीय भेटवार्ताका क्रममा यो कूटनीतिक सफलताको घोषणा गरेका हुन् । म्याक्रोनसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “म यो भन्न पाउँदा निकै खुसी छु कि सम्झौतामा हस्ताक्षर भइसकेको छ, यो पूर्ण रूपमा सम्पन्न भयो ।”
अमेरिकी उच्च अधिकारीहरूका अनुसार यो ऐतिहासिक समझदारी पत्र (MoU) मा भौतिक रूपमा भेट्नुअघि नै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी हस्ताक्षर गरिएको छ । सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले इलेक्ट्रोनिक माध्यम (ई–हस्ताक्षर) बाट सहमति जनाइसकेका छन् ।
प्रारम्भिक र कानुनी प्रक्रिया अनलाइन माध्यमबाट पूरा गरिए पनि यस ऐतिहासिक क्षणलाई उत्सवको रूपमा मनाउन दुवै देश तयार भएका छन् । सम्झौताको औपचारिक र भौतिक हस्ताक्षर समारोह भने यसै हप्ताको अन्त्यमा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने तय भइसकेको छ ।
दशकौँदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका वासिङ्टन र तेहरानबिचको यो पछिल्लो विकासक्रमले विश्व राजनीति र मध्यपूर्वको सुरक्षा समीकरणमा ठुलो फेरबदल ल्याउने अनुमान गरिएको छ । ट्रम्पको यो कदमलाई अन्तर्राष्ट्रिय कूटनीतिमा एउटा ठुलो ‘सरप्राइज’का रूपमा हेरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस