अमेरिका–इरान सम्झौताप्रति इजरायलमा आक्रोश, नेतान्याहुको राजनीतिक भविष्य सङ्कटमा
हिजबुल्लाहविरुद्ध कारबाही गर्ने इजरायली सेनाको हात बाँधिदिएको उनीहरूको ठहर
रेहोभोटको हर्जल स्ट्रिट नजिकै अवस्थित 'ट्री ब्रासेरी' क्याफेमा भेला भएका मानिसहरू एउटा कुरामा पूर्ण सहमत देखिन्थे– केही दिनअघि इरान र अमेरिकाबिच भएको युद्धविराम सम्झौता इजरायलका लागि आत्मघाती छ । ५५ वर्षीय एभी पेरेजले आक्रोश पोख्दै भने, "हामीलाई राष्ट्रपति ट्रम्पले धोका दिए ।"
त्यहाँ उपस्थित मानिसहरू इजरायल इतिहासकै सबैभन्दा ठुलो सुरक्षा थ्रेटमा घेरिएको र अब यी चुनौतीहरूको सामना एक्लै गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । ३५ वर्षीय शाहाम नोविक भन्छन्, "यो अचम्मको कुरा हो । हिजोसम्म हामी बालबालिका बचाउन बङ्करमा थियौँ, आज सबै कुरा सामान्य भएजस्तो नाटक गरिँदै छ । तर, समस्याको समाधान कत्ति पनि भएको छैन ।"
तेल अभिभबाट १२ माइल टाढा रहेको रेहोभोट सहरका मुख्य सडकहरूमा इजरायली झण्डाहरू फहराइरहेका छन् । एउटा कुनामा चर्को 'रेव' सङ्गीत गुञ्जिरहेको छ भने अर्को कुनामा कट्टरपन्थी (अर्थोडक्स) यहूदी पुरुषहरू छलफलमा व्यस्त छन् । नयाँ बस प्रणाली निर्माण कार्यले गर्दा सप्ताहांतको ट्राफिक जाम उत्कर्षमा छ । विविधता र वैचारिक रूपमा विभाजित यो देशको वास्तविक प्रतिनिधित्व यही रेहोभोट सहरले गर्छ, जसलाई राजनीतिक विश्लेषकहरू 'मध्य इजरायल' को ऐना मान्छन् ।
शुक्रबार बिहान धेरै मानिस युद्धको तनावपूर्ण समाचारबाट टाढा रहन क्याफेमा जम्मा भएका थिए । तर, घटनाक्रम फेरि लेबनानतर्फ मोडियो, जहाँ इजरायली सेनाले भीषण हवाई आक्रमण सुरु गरिसकेको थियो । इरान समर्थित हिजबुल्लाहले इजरायली ट्याङ्कमाथि हमला गरी एक वरिष्ठ अधिकारीसहित चार सैनिकको हत्या गरेपछि इजरायलले प्रतिशोधात्मक आक्रमण गरेको हो, जसमा १८ जनाको मृत्यु र ३३ जना घाइते भएका छन् ।
वासिङ्टनबाटै इजरायल किनारामा
धेरै इजरायलीहरू अमेरिकी मध्यस्थतामा भएको इरान सम्झौतालाई 'पिठ्युँमा छुरा धसिएको' रूपमा बुझ्छन् । राजनीतिक विश्लेषकहरूले यसलाई 'इजरायलले सोचेभन्दा पनि अपमानजनक आत्मसमर्पण' को सङ्ज्ञा दिएका छन् ।
इजरायलको चिन्ता इरान फेरि सैन्य रूपमा बलियो बन्नेमा मात्र सीमित छैन । लेबनान सम्झौताले इजरायलको उत्तरी सीमाका लागि मुख्य चुनौती बनेको हिजबुल्लाहविरुद्ध कारबाही गर्ने इजरायली सेनाको हात बाँधिदिएको उनीहरूको ठहर छ ।
राजनीतिक रणनीतिकार उदी टेन्ने भन्छन्, "इजरायलीहरू लेबनान युद्धलाई न्यायोचित मान्छन् । यहाँका प्रत्येक नागरिकलाई थाहा छ कि इरान र हिजबुल्लाह एउटै सिक्काका दुई पाटा हुन् ।"
लेबनान सीमावर्ती उत्तरी सहर मेटुल्लामा पनि आक्रोशको आगो बलेको छ । रेस्टुरेन्ट व्यवसायी ड्यानियल डोर्फम्यान भन्छन्, "इरानविरुद्धको सैन्य कारबाहीबाट सबै खुसी थिए, तर अमेरिकी सम्झौता इजरायलका लागि घातक गल्ती साबित हुनेछ ।"
आलोचकहरूले इरानको सत्ता परिवर्तन, आणविक कार्यक्रमको अन्त्य र ब्यालिस्टिक क्षेप्यास्त्र उन्मूलन गर्ने युद्धको मुख्य उद्देश्य नै असफल भएको टिप्पणी गरेका छन् । अमेरिकासँग 'काँधमा काँध मिलाएर' युद्धमा होमिएको इजरायल अन्ततः वासिङ्टनद्वारा किनारामा पारियो र राष्ट्रपति डोनाल्ड ट्रम्पले त इजरायललाई 'नगण्य शक्ति' भन्दै खारेज गरिदिए ।
नेतान्याहुमाथि चौतर्फी दबाब
ह्वाइट हाउसमा रणनीतिक सल्लाहका लागि निमन्त्रणा पाउनुको साटो प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा नागरिक हताहती (जहाँ ३,९०० भन्दा बढी मारिएका छन्) लाई लिएर कडा आलोचना खेपिरहेका छन् ।
दैनिक पत्रिका येदियोथ अहरोनोथका स्तम्भकार नादाभ एयाल लेख्छन्, "इजरायली सत्ता संरचनाभित्रको आक्रोश र शोकलाई शब्दमा वर्णन गर्न सकिँदैन । अहिले उनीहरूको घाउमा नुन छर्किने काम भएको छ ।"
भ्रष्टाचारको मुद्दा झेलिरहेका ७६ वर्षीय नेतान्याहुका सामु आगामी अक्टोबरमा हुने आम निर्वाचनमा आफूलाई मात्र इजरायलको 'एकमात्र रक्षक' साबित गर्नुपर्ने कडा चुनौती छ । इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी प्राध्यापक तामार हेर्मान भन्छिन्, "नेतान्याहुले युद्धका लक्ष्यहरू अतिरञ्जित रूपमा प्रस्तुत गरेर अहङ्कार देखाए । जब लक्ष्य पूरा हुँदैन, तब जनताले नेतालाई अविश्वसनीय मान्न थाल्छन् ।"
अक्टोबर २०२३ मा हमासको आक्रमण (जसमा १,२०० इजरायली मारिएका थिए र २५० अपहृत भएका थिए) पछि नेतान्याहुप्रतिको जनविश्वास निकै खस्किएको थियो । गाजामा इजरायलले चलाएको लामो र रक्तपातपूर्ण सैन्य अभियान (जसमा ७३,००० भन्दा बढी मानिस मारिएका छन्) ले इजरायललाई अन्तर्राष्ट्रिय मञ्चमा एक्लो बनाएको छ । इजरायलले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिए पनि २३ लाख जनसङ्ख्यामा अझै हमासकै प्रभाव रहेको बताइन्छ । लेबनानमा हिजबुल्लाहविरुद्धको युद्ध पनि निर्णायक हुन सकेको छैन ।
तर, नेतान्याहुका अन्धभक्तहरू अझै पनि उनीप्रति वफादार छन् । हालै गरिएको सर्वेक्षणमा ४३ प्रतिशत मतदाताले इरानविरुद्ध नेतान्याहु नै सबैभन्दा बलियो विकल्प भएको बताएका छन् । इन्जिनियर एभी पेरेज भन्छन्, "नेतान्याहुबाट गल्ती भए होलान्, तर संकट समाधान गर्न उनलाई मात्र आउँछ । ट्रम्प आफ्नो व्यापारका लागि बोल्छन्, नेतान्याहु देशका लागि बोल्छन् ।"
३४ वर्षीया चिकित्सक ली नोविकको विचारमा नेतान्याहुले सत्तामा टिकिरहन देशलाई विभाजित गरेका छन् । उनी भन्छिन्, "घरको मूल्यवृद्धि वा मुद्रास्फीतिजस्ता आधारभूत समस्याबाट ध्यान मोड्न यो सरकारले युद्धलाई विभाजनकारी कानुन पास गर्ने हतियार बनाएको छ ।"
विपक्षी नेताहरू पनि यहूदी समुदायभित्रको बढ्दो मतभेद र संवादहीनताप्रति चिन्तित छन् । यद्यपि, प्राध्यापक हेर्मान भने इजरायलीहरूलाई सुरक्षा नीति, यहूदी राष्ट्रको अस्तित्व र प्यालेस्टाइनसँगको 'द्वि-राष्ट्र समाधान' असम्भव रहेको साझा धारणाले अझै पनि एक ठाउँमा बाँधेको तर्क गर्छिन् ।
तर, भुइँतहका नागरिकमा निराशा ब्याप्त छ । ५५ वर्षीया डालिया पेरेज भन्छिन्, "यी घटनाक्रमले मलाई एउटै कुरा सिकाए– यो क्षेत्रमा शान्ति कहिल्यै आउने छैन । हामी सधैँ तरबारको धारमा बाँच्नुपर्नेछ । अब हामीले बुझिसक्यौँ कि संसारमा हाम्रो कोही साथी छैन र हामी कसैलाई विश्वास गर्न सक्दैनौँ ।"
विभिन्न अन्तराष्ट्रिय संचारबाट



तपाईको प्रतिक्रिया दिनुहोस