Techie IT
२०८३ असार १९, शुक्रबार

इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि तयारी तीव्र: २ करोड मानिस सहभागी हुने अनुमान


तेहरान । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा पुर्‍याइएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार कुनै पूर्वसूचना नदिई कडा सुरक्षाका बीच खामेनीको शव राखिएको कफिनलाई उनको ‘शहादत’ भएको स्थानमा पुर्‍याइएको हो ।

इरानी अधिकारीहरूका अनुसार यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा खामेनी मारिएपछि उनका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता नियुक्त गरिएको थियो ।

इरानले जुलाई ४ र ५ मा राजधानी तेहरानमा दुई दिने सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) को तेहरान कमान्डका प्रमुख ब्रिगेडियर जनरल हसन हसनजादेहका अनुसार समारोहमा १ करोड २० लाखदेखि २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ, जुन इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक हुनेछ । अपेक्षित भीडलाई व्यवस्थापन गर्न राजधानीका फराकिला सडकहरू समेटेर शवयात्राको मार्ग तय गरिएको छ ।

यसैबीच, नयाँ सर्वोच्च नेता मोजतबा खामेनी भने सुरक्षा जोखिमका कारण आफ्ना पिताको अन्त्येष्टि समारोहमा सार्वजनिक रूपमा सहभागी नहुने भएका छन् । भारतका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि आयातोल्लाह हाकिम इलाहीका अनुसार इजरायलबाट हुन सक्ने सम्भावित हवाई आक्रमण र कडा निगरानीको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।

खामेनीको निधनप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन संवाद गरी समवेदना व्यक्त गरेका छन् । सो क्रममा उनीहरूबीच क्षेत्रीय तनाव, होर्मुज जलडमरूमध्यको सुरक्षा, लेबनान युद्धविराम र जारी कूटनीतिक वार्ताबारे समेत छलफल भएको छ ।

यस्तै, भारत सरकारको प्रतिनिधित्व गर्दै बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) सैयद अता हसनैन र विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटा जुलाई ३ मा अन्त्येष्टि समारोहमा सहभागी हुन इरान पुग्दै छन् । घानास्थित इरानी दूतावासले पनि सन् २०१६ मा तत्कालीन घानाका राष्ट्रपति जोन ड्रामानी महामा र खामेनीबीच भएको भेटवार्तालाई स्मरण गर्दै श्रद्धाञ्जली सन्देश जारी गरेको छ ।

सरकारी संयन्त्र उच्च सतर्कतामा
इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार जुलाई ४ बिहान ६ बजेदेखि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा सर्वसाधारणका लागि श्रद्धाञ्जली कार्यक्रम सुरु हुनेछ र जुलाई ५ को बिहान अन्तिम प्रार्थना गरिनेछ । विशाल जनसहभागितालाई ध्यानमा राख्दै मेट्रो, बस सेवा, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकायहरू पूर्ण रूपमा परिचालन गरिएका छन् । सहभागीहरूका लागि खानेपानी, भोजन, स्वास्थ्य र सरसफाइको विशेष व्यवस्था मिलाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट