कतारका पूर्व अमिरको निधनमा भारतको एकदिने राष्ट्रिय शोक घोषणा
कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति सम्मान व्यक्त गर्दै भारत सरकारले सोमबार एकदिने राष्ट्रिय शोक घोषणा गरेको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार शोकका दिन देशभरका नियमित रूपमा राष्ट्रिय झण्डा फहराइने सबै सरकारी भवनमा भारतीय राष्ट्रिय झण्डा आधा झुकाइनेछ। साथै, सो दिन कुनै पनि सरकारी मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने छैन।
विदेश मन्त्रालयका अनुसार भारत सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्न संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजू चाँडै कतार जाने सम्भावना रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पूर्व अमिर शेख हमदको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले शेख हमदलाई कतारलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउने दूरदर्शी नेताका रूपमा स्मरण गरेका छन्। उनले फेब्रुअरी २०२४ मा कतार भ्रमणका क्रममा पूर्व अमिरसँग भेट्ने अवसर पाएको उल्लेख गर्दै उनलाई आफ्नो ‘सच्चा मित्र’का रूपमा सम्झिएका छन्।
मोदीले वर्तमान अमिर शेख तमिम बिन हमद अल थानी, शाही परिवार तथा कतारका सम्पूर्ण जनताप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
कतार सरकारका अनुसार पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको आइतबार बिहान ७४ वर्षको उमेरमा निधन भएको हो। उनी सन् १९९५ देखि २०१३ सम्म कतारका अमिरका रूपमा कार्यरत रहेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस