Techie IT
२०८३ श्रावण १८, सोमबार

पश्चिमी सुडानमा सैन्य ड्रोन आक्रमणबाट ३५ जनाको मृत्यु


सुडानको पश्चिमी डार्फर क्षेत्रमा सुडानी सेनाले गरेको ड्रोन आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ। आक्रमणमा परेर अन्य कैयौँ मानिस गम्भीर घाइते भएका छन्।

आपत्कालीन कानुन व्यवसायी समूह ‘इमर्जेन्सी लयर्स’का अनुसार आइतबार दिउँसो उत्तरी डार्फर राज्यको गारा अल–जाविया गाउँमा रहेको एक परम्परागत अदालतलाई लक्षित गरी ड्रोनबाट प्रहार गरिएको थियो। स्थानीय समयअनुसार दिउँसो १ बजेको समयमा विवाद निरूपणका लागि अदालत परिसरमा स्थानीय बासिन्दा भेला भएका बेला उक्त आक्रमण भएको हो। गारा अल–जाविया हाल अर्धसैनिक समूह ‘र्‍यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ) को नियन्त्रणमा रहेको क्षेत्र हो।

प्रत्यक्षदर्शीहरूका अनुसार उक्त अदालतको सुनुवाइ भवनभित्र नभई खुला स्थानमा एउटा रूखमुनि स्थानीय अगुवाहरूको सहभागितामा भइरहेको थियो। आक्रमणमा चार जना जनजातीय नेता र आरएसएफका दुई जना कमान्डरसमेत मारिएको पुष्टि भएको छ।

सुडानमा सन् २०२३ को अप्रिलदेखि सेनाप्रमुख अब्देल फत्ताह अल–बुर्हान र आरएसएफ प्रमुख मोहम्मद हमदान दागालोबीच सत्ता संघर्षका कारण गृहयुद्ध जारी छ। हालसम्म यस द्वन्द्वमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् भने लाखौँ विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघले यसलाई विश्वकै सबैभन्दा ठुलो मानवीय संकटका रूपमा चित्रण गरेको छ।

पछिल्लो समय दुवै पक्षले ड्रोनलाई प्रमुख युद्धकलाका रूपमा प्रयोग गर्न थालेका छन्। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०२६ को पहिलो पाँच महिनामै ड्रोन आक्रमणबाट १,००० भन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। नागरिक क्षेत्रमा भइरहेका यस्ता आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भइरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट