गलवान काण्डपछि भारत–चीन सम्बन्धमा कस्तो छ फेरबदल?
सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको गम्भिर सीमा झडपपछि गहिरो शीतयुद्धको स्थितिमा पुगेको भारत र चीनको सम्बन्धमा पछिल्लो समय बिस्तारै सुधारका लक्षणहरू देखिन थालेका छन्। नयाँ दिल्लीमा जारी ब्रिक्स (BRICS) शिखर सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच हुन लागेको उच्चस्तरीय भेटवार्तालाई दुई देशबीचको सम्बन्ध सामान्यीकरणतर्फको सबैभन्दा ठूलो कदमका रूपमा हेरिएको छ। चिनियाँ राष्ट्रपतिको यो भ्रमण सात वर्षयताकै पहिलो हो।
सन् २०२० मा पश्चिमी हिमालयको गलवानमा भएको रक्तपातपूर्ण झडपमा कम्तीमा २० भारतीय र ४ चिनियाँ सैनिकको ज्यान गएको थियो। त्यसयता दुई देशबिचको सैन्य, कूटनीतिक र व्यापारिक सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको थियो। भारतले चिनियाँ लगानीमा कडाइ गर्नुका साथै लोकप्रिय मोबाइल एपहरूमा प्रतिबन्ध लगाएको थियो भने प्रत्यक्ष हवाई सेवासमेत बन्द गरिएको थियो। चीनतर्फबाट पनि नागरिकस्तरको आवतवाजत र कूटनीतिक संवादमा रोक लगाइएको थियो।
सन् २०२४ पछि भने दुवै देश सम्बन्धलाई पुनः ट्र्याकमा ल्याउन सक्रिय देखिएका छन्। अक्टोबर २०२४ मा भएको सैन्य फिर्ती (डिसइन्गेजमेन्ट) सहमति तथा सीमा क्षेत्रमा गस्ती पुनः सुरु भएपछि तनाव क्रमशः मत्थर हुँदै गएको छ। यसैबीच, दुई देशबिच प्रत्यक्ष हवाई सेवा सुचारु भएको छ भने व्यावसायिक भिसा प्रक्रियामा समेत केही सहजता ल्याइएको छ।
आर्थिक वर्ष २०२५/२६ मा चीन भारतको सबैभन्दा ठूलो आयात स्रोत बन्दै करिब १३२ अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार पुगे पनि भारततर्फको व्यापार घाटा भने उच्च (११२ अर्ब डलरभन्दा बढी) रहँदै आएको छ। भारतले सौर्य ऊर्जा र प्रविधिजस्ता केही क्षेत्रमा चिनियाँ लगानी र उपकरणमाथिका प्रतिबन्धहरू केही हदसम्म खुकुलो बनाएको छ।
सम्बन्धमा सुधारका प्रयासबिच दुई देशबीच पूर्ण विश्वासको वातावरण बनिसकेको छैन। अरुणाचल प्रदेशको सीमा विवाद, राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील क्षेत्रमा चिनियाँ लगानीप्रतिको भारतको सतर्कता तथा चीनप्रतिको अविश्वास कायमै छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले लागु गरेका कर नीतिहरू र भूराजनीतिक समीकरणका कारण पनि दुई देश नजिकिन बाध्य भएका छन्।
राजनीतिक र सुरक्षा क्षेत्रमा अविश्वासका मुद्दाहरू बाँकी रहे पनि आर्थिक आवश्यकता र कूटनीतिक बाध्यताले ‘ड्रागन र हात्ती’ लाई पुनः टेबलमा ल्याएको छ। ब्रिक्स सम्मेलनपछि यो “सावधानीपूर्ण सुधार” को सम्बन्ध कुन दिशातर्फ अघि बढ्छ, त्यो भने आगामी दिनले नै स्पष्ट पार्नेछ।
Source: CNBC, The Wall Street Journal, Financial Times



तपाईको प्रतिक्रिया दिनुहोस