ठक्कर दिएर फरार स्कर्पियो चालक घरमै लुकाएको गाडीसहित पक्राउ
सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा साइकलयात्रीलाई ठक्कर दिएर फरार रहेका सवारी चालकलाई प्रहरीले स्कर्पियोसहित पक्राउ गरेको छ ।
गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित राजमार्गमा स्कर्पियोको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मङ्सिर ८ गते साँझ करिब ६:५५ बजे नम्बर नखुलेको सिल्भर रङको स्कर्पियोले गोलबजारबाट निपनिया चोकतर्फ जाँदै गरेका स्थानीय हरिया महराका ५० वर्षीय छोरा बसन्त महरालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महराको गोलबजारस्थित गोलबजार हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनालगत्तै फरार रहेका चालक र सवारीसाधनको खोजी तथा अनुसन्धानका क्रममा बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कर्पियो र चालक सिरहाको मिर्चैया नगरपालिका–४ बाह्रबिघाका ४२ वर्षीय बिहारी महराको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मङ्सिर १० गते बिहान १०:५० बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमा स्कर्पियो लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको थियो । इलाका प्रहरी कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले चालक महरालाई सवारीसाधनसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस