Techie IT
२०८२ वैशाख २०, शनिबार

अमेरिकाले चीनबाट आउने सस्तो सामानमा छुट हटायो, १४५% भन्सार कर लागू


संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रबारदेखि अन्त्य गरेको छ । यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का पुर्याएको छ ।

ह्वाइट हाउसले चीनबाट संयुक्त राज्य अमेरिकामा ‘सेमीसिन्थेटिक ओपिओइड्स’ भनिने एक प्रकारको लागू पदार्थको अवैध प्रवाहका कारण उत्पन्न भइरहेको स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न महत्वपूर्ण कदम भएको बताएको छ । शुक्रबारदेखि व्यावसायिक रूपमा ढुवानी हुने सामानमा अब १४५ प्रतिशतको नयाँ कर लाग्नेछ, जुन चीनबाट आउने सामानमा लगाइएको करको हालको स्तर हो ।

अमेरिकी हुलाक सेवामार्फत पठाइने वस्तुहरूमा उनीहरूको मूल्यको १२० प्रतिशत वा १०० डलरको शुल्क लाग्नेछ, जुन अर्को महिना २०० डलरमा वृद्धि हुनेछ । न्यूनतम वस्तुसँग सम्बन्धित (डे मिनिमिस) छुटको उन्मूलनले अब कम मूल्यको आयातलाई पनि करको अधीनमा राख्नेछ,” अमेरिकी संस्था इवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोले ग्राहकहरूका लागि जारी हालैको सूचनामा लेखेका  छन् ।  विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धको यो पछिल्लो कदम हो । ह्वाइट हाउसले चीनबाट आउने अटोमोबाइल्स, स्टिल र आल्मुनियमलगायत विभिन्न क्षेत्रमा २५ प्रतिशत थप कर लगाएको छ ।

त्यसको जवाफमा बेइजिङले अमेरिकी आयातमा १२५ प्रतिशत कर लगाएको थियो । मेक्सिको र क्यानडाबाहेक अन्य अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूले १० प्रतिशतको आधारभूत करको सामना गरिरहेका छन् । उनीहरूले हालको उत्तर अमेरिकाको स्वतन्त्र व्यापार सम्झौताले नसमेटेका सामानहरूमा उच्च २५ प्रतिशत करको सामना गर्नेर्छन् ।

यस कदमले चीनबाट सस्तो सामान ढुवानी गर्ने शेन र टेमुसहित धेरै ठूला फर्महरूको व्यापार मोडेलमा नकारात्मक असर पर्ने छ । 
यद्यपि, न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीबद्ध प्राय चिनियाँ ई–कमर्स साइटहरूको शेयरमा शुक्रबार धेरै हदसम्म वृद्धि देखिएको थियो । सम्भवतः यसले बेइजिङ र वाशिङ्गटनबीचको व्यापार वार्ताको बारेमा आशावादलाई प्रतिबिम्बित गर्दछ । तथ्य यो पनि हो कि यी परिवर्तनहरूमध्ये धेरैको पहिले नै वित्तीय बजारमा मूल्य निर्धारण गरिएको थियो ।

स्थानीय समयअनुसार १४ः४० मा टेमुको मालिक पिडिडी ३.७ प्रतिशतले बढेको थियो भने अलिबाबा ४.० प्रतिशतले बढेको थियो ।
शेनले लण्डनको सार्वजनिक शेयर बजारमा सूचीकरण गर्ने लामो समयदेखिको योजनालाई स्थगित गरेको यसै साताको सुरुमा फाइनान्सियल टाइम्सले जानकारी गराएको थियो ।

ट्रम्पले पहिलो पटक फेब्रुअरीमा छूट रद्द गर्न आह्वान गरेका थिए तर यस कदमले व्यवस्थापकीय अवरोध उत्पन्न गरेपछि पछि हटेका थिए ।  त्यतिबेला बेइजिङले संयुक्त राज्य अमेरिकाले ‘व्यापार र आर्थिक मुद्दाहरूलाई राजनीतिकरण गरेको र तिनीहरूलाई औजारको रूपमा प्रयोग गरेको’ आरोप लगाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट