Techie IT
२०८२ वैशाख २१, आइतबार

कश्मीर तनाव चुलिँदा पाकिस्तानको मिसाइल परीक्षण: शक्ति प्रदर्शन कि चेतावनी ?


कश्मीरको विवादित क्षेत्रमा भएको घातक आक्रमणपछिको बढ्दो तनावका बीच पाकिस्तान सेनाले शनिबार मिसाइल  प्रक्षेपण गरेको जनाएको छ । भारत–प्रशासित कश्मीरको पहलगाममा गत महिना भएको पर्यटकमाथिको आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ, जसपछिको अवस्थाले दुई आणविक शक्ति राष्ट्रबीच पुनः तनाव बढाएको छ ।

पाकिस्तान सेनाले दिएको विज्ञप्तिमा 'अब्दाली वेपन सिस्टम' को सफल प्रशिक्षण प्रक्षेपण गरिएको जानकारी दिइएको छ । यो मिसाइल प्रणालीले ४५० किलोमिटर (२७९ माइल) सम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमता राख्दछ ।

"यो प्रक्षेपण सेनाको कार्यसञ्चालन क्षमताको परीक्षण तथा मिसाइलको प्रविधीय पक्ष—विशेषगरी अगाडि बढाइएको नेभिगेसन प्रणाली र सुधारिएको फुर्तिलोपन—को मूल्याङ्कन गर्न गरिएको हो," पाकिस्तान सेनाले बताएको छ।

तर प्रक्षेपण कुन स्थानमा गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन । उक्त परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणमा कारबाही गर्न सेनालाई 'पूर्ण स्वतन्त्रता' दिएको घोषणा पछिको समयमै भएको हो । सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू तीर्थयात्री थिए ।

पाकिस्तानले आक्रमणमा संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ । यसै साता पाकिस्तानले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो र कुनैपनि आक्रामक गतिविधिमा बलपूर्वक प्रतिकार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

कश्मीरको विषयमा बारम्बार युद्धमा होमिएका भारत र पाकिस्तानमाथि अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न दबाब दिएको छ ।  चीनले संयमता अपनाउन आग्रह गरेको छ भने युरोपेली संघले पछिल्लो अवस्था 'गम्भीर र चिन्ताजनक' भएको जनाएको छ ।

अमेरिकाका उपराष्ट्रपति जे.डी. भ्यान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भारतलाई 'क्षेत्रीय द्वन्द्वमा परिणत नहुने' किसिमले प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । साथै, पाकिस्तानलाई “आफ्नो भूमिमा सक्रिय आतङ्ककारीहरूको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न” अनुरोध गरेका छन्।

'विश्वलाई सन्देश'

पाकिस्तानी विश्लेषकहरूले उक्त मिसाइल प्रक्षेपणलाई चेतावनीको रूपमा व्याख्या गरेका छन् । "यसले पाकिस्तानसँग भारतलाई प्रत्युत्तर दिने स्रोत र क्षमता छ भन्ने देखाउँछ । यो केवल भारतका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि सन्देश हो कि हामी तयारी अवस्थामा छौं," सैन्य विश्लेषक हसन अस्करी रिजवीले एएफपीसँग भने ।

शुक्रबार पाकिस्तानी सेनाध्यक्ष जनरल सैयद आसिम मुनिरले उच्च सैन्य कमान्डहरूसँग हालको भारत–पाकिस्तान तनावबारे छलफल गरेका थिए । बैठकमा उनेले सबै सीमाक्षेत्रहरूमा सजगता र तयारी बढाउन जोड दिएका थिए ।

कश्मीरको पछिल्लो हिंसा—वर्षौँपछि नागरिकमाथिको सबैभन्दा घातक आक्रमण—पछिका दिनहरूमा भारत र पाकिस्तानबीच कूटनीतिक आरोप–प्रत्यारोप, राजदूत निष्कासन र सीमा बन्द गर्ने कदमहरू चालिएको छ । भारतीय रक्षा स्रोतहरू अनुसार, दुबै देशले नियन्त्रण रेखा (एलओसी) मा नौ रातदेखि लगातार गोलीबारी गरिरहेका छन् ।

करीब १.५ करोड जनसंख्या रहेको मुस्लिमबहुल कश्मीर क्षेत्र पाकिस्तान र भारतबीच बाँडिएको छ तर दुवै देशले यसलाई आफ्नो क्षेत्र भनेर दाबी गर्दै आएका छन् । भारत–प्रशासित कश्मीरमा सन् १९८९ देखि चलेको विद्रोहले स्वतन्त्रता वा पाकिस्तानसँग मिल्ने माग राख्दै आएको छ। 

भारतले यस्ता गतिविधिमा पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै कश्मीरको आत्मनिर्णयको अधिकारलाई मात्र समर्थन गर्ने र त्यहाँ भइरहेका मानव अधिकार उल्लंघनहरूको विरोध गर्ने बताउँदै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट