पाकिस्तानको गोलीबारीबाट भारतीय उच्च अधिकारीको मृत्यु

पाकिस्तानतर्फबाट भएको गोलीबारीमा जम्मू–कश्मीर प्रशासनका एक उच्च अधिकारीको ज्यान गएको भारतले बताएको छ । भारतीय अधिकारीका अनुसार गोलीबारीमा अतिरिक्त जिल्ला विकास आयुक्त (Additional Divisional Commissioner) राजकुमार थापाको मृत्यु भएको हो।
जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्विटर) मा जानकारी दिँदै लेखेका छन्, “राजौरीबाट दुःखद खबर आएको छ। हामीले जम्मू–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौं।”
मुख्यमन्त्रीका अनुसार थापा हिजो मात्रै उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र अनलाइन बैठकमा पनि सहभागी भएका थिए। पाकिस्तानले राजौरी सहरलाई लक्षित गरी गरेको आक्रमणमा थापाको घरमा क्षति पुग्दा उनको मृत्यु भएको बताइएको छ। अन्य क्षतिको विवरण भने अझै सार्वजनिक गरिएको छैन।
भारतीय सुरक्षाबलले गोलीबारीको जवाफ दिएको जानकारी दिइएको छ। पछिल्लो तनाव ‘अपरेशन सिन्दूर’ को भागस्वरूप भारतले हवाई हमला गरेपछि पाकिस्तानले 'बुनयान-उल-मरसूस' नामक जवाफी कारबाही सुरु गरेको हो। पाकिस्तानले भारतीय हवाई सेना र मिसाइल भण्डारण क्षेत्रहरूलाई निशाना बनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस