Techie IT
२०८२ जेष्ठ ५, सोमबार

पाकिस्तानमा एक करोड १० लाख भोकमरीको जोखिममा : राष्ट्रसङ्घीय प्रतिवेदन


पाकिस्तानमा नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ, जसमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सो संस्थाले सार्वजनिक गरेको सन् २०२५ सालको वैश्विक खाद्य सङ्कटसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिए अनुसार, बलुचिस्तान, सिन्ध र खैबर पख्तूनख्वाका बाढी प्रभावित ६८ वटा ग्रामीण जिल्लाहरूमा करिब २२ प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षामा पर्नेछ ।

यस मध्ये १७ लाख मानिसको अवस्था आपतकालीन तहमा रहेको छ । सन् २०२३ सालको तुलनामा हालको विश्लेषणमा समावेशी जनसङ्ख्या ३८ प्रतिशतले वृद्धि भई तीन करोड ६७ लाखबाट पाँच करोड आठ लाख पुगेको छ । थप २५ जिल्ला समावेश गरिएकाले अघिल्लो तथ्याङ्कसँग सिधा तुलना गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले चरम मौसमको असरले जनताको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्ने जनाउँदै, अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि अवस्था अझै गम्भीर रहेको जनाएको छ । सन् २०२२ को मङ्सिरदेखि माघसम्म पनि पाकिस्तानमा करिब एक करोड १८ लाख मानिस तीव्र खाद्य असुरक्षामा परेका थिए । 

बलुचिस्तान र सिन्धका विश्लेषण गरिएका क्षेत्रहरूमा सन् २०१८ देखि २०२३ सम्म निरन्तर अत्यधिक कुपोषण देखिएको उल्लेख छ । कतिपय जिल्लामा ३५ प्रतिशतसम्मको वैश्विक कुपोषण दर देखिएको छ । सन् २०२५ मा जलवायुजन्य प्रकोप र खाद्य अभावका कारण कुपोषणको अवस्था अझ गम्भीर बन्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ ।

साथै, छ महिनादेखि पाँच वर्षसम्मका २१ लाख बालबालिकामा कुपोषण देखिएको छ । कमजोर आहार, खाद्य अभाव, चिसो मौसम, महँगो मूल्य, कामको अभाव र बजारसम्म पुग्न नसक्ने अवस्थाका कारण समस्या झनै बढेको छ । गर्भवती र स्तनपान गराइरहेका महिलाहरूमा पनि कुपोषणको दर अत्यधिक छ । धेरै बच्चा जन्मिँदा कम तौलका हुने समस्या पनि देखिएको छ ।

स्वास्थ्य सेवा, पिउनयोग्य पानी तथा सरसफाइको पर्याप्त पहुँच नभएको र सडकहरू अबरुद्ध हुँदा स्वास्थ्य केन्द्रसम्म पुग्न सकिने अवस्था नरहेको जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, “सन् २०२२ मा आएको भीषण वर्षा र बाढीपछिका असरहरू अझै कायम छन्, जसले २०२५ मा स्थिति अझै खराब हुन सक्ने सङ्केत दिएका छन् ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट