Techie IT
२०८२ माघ २९, बिहीबार

दिल्लीको रातो किल्ला नजिक कार विस्फोट, आठ जनाको मृत्यु


भारतको राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक रातो किल्ला नजिक कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। सो घटनामा कम्तीमा २० जना घाइते भएको भारतीय टेलिभिजन च्यानलहरूले जनाएका छन्।

विस्फोटको कारण तत्काल स्पष्ट भएको छैन। घटनापछि दिल्लीसँगै छिमेकी उत्तर प्रदेश र भारतको आर्थिक राजधानी मुम्बईलाई उच्च सतर्कतामा राखिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। विस्फोट रातो किल्ला मेट्रो स्टेशन नजिकै भएको बताइन्छ।

अनलाइनमा सार्वजनिक भिडियोहरूमा पुरानो दिल्लीको भीडभाड सडकमा क्षतिग्रस्त गाडीहरू र आगलागी देखिएको छ । सुरक्षाकर्मीहरूले घटनास्थल घेराबार गरी भीडलाई पछाडि सारिरहेका दृश्यहरू समेत देखिएका छन्। नयाँ दिल्लीका दमकल उपप्रमुखका अनुसार विस्फोटका कारण ६ वटा गाडी र तीन वटा अटो–रिक्सामा आगो लागेको हो।

नयाँ दिल्ली प्रहरी आयुक्त सतीश गोल्छाले विस्फोट साँझ करिब ७ बजेतिर भएको जानकारी दिएका छन्। “रातो बत्तीमा रोकिएको गाडीमा अचानक विस्फोट भयो, त्यसले वरिपरिका अन्य गाडीहरूलाई पनि क्षति पुर्‍यायो,” उनले पत्रकारहरूसँग भने। उनका अनुसार अहिले स्थिति नियन्त्रणमा रहेको छ।

१७औँ शताब्दीमा निर्माण भएको रातो किल्ला भारतका मुगल सम्राटहरूको शाही दरबार रहँदै आएको ऐतिहासिक स्थल हो, जुन अहिले प्रमुख पर्यटकीय आकर्षणको रूपमा चिनिन्छ। स्वतन्त्र पत्रकार अमित बारुआले अल जजीरासँग कुरा गर्दै सो क्षेत्रलाई “दिल्लीको सबैभन्दा भीडभाडयुक्त क्षेत्र” भएको भन्दै “त्यही कारण यस क्षेत्रमा आक्रमणको जोखिम उच्च” रहने टिप्पणी गरेका छन्।

उनका अनुसार सोमबारको यो विस्फोटअघि नयाँ दिल्लीमा यस्ता घटनाहरू लामो समयदेखि भएका थिएनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट