चामल संकटबीच जापानका कृषिमन्त्रीको राजीनामा

चामलको बढ्दो मूल्यको मार खेपिरहेको जापानमा खाद्य सुरक्षाको विषयले नयाँ मोड लिएको छ । विवादास्पद टिप्पणीका कारण जापानका कृषिमन्त्री टाकु इटोले बुधबार राजीनामा दिएका छन् ।
गत सप्ताहन्तमा एक भेलामा बोल्दै इटोले भनेका थिए, “मैले कहिल्यै चामल किनेको छैन, किनभने मेरा समर्थकहरूले यति धेरै दान गर्छन् कि म त बेच्न पनि सक्थें ।” यति बेला चामलको मूल्य दोब्बर भइसकेको र सर्वसाधारण आर्थिक संकटमा परेको अवस्थामा आएको यस्तो भनाइले देशव्यापी आक्रोश निम्त्याएको हो ।
सन् २०२३ को खराब मौसम, भूकम्पको त्रासपछि आपतकालीन खरिद, र पर्यटनको वृद्धिका कारण चामलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ। अप्रिल २०२४ को तुलनामा अहिलेको मूल्य झन्डै दोब्बर पुगेको बताइएको छ ।
चामलको अभाव समाधान गर्न सरकारले आपतकालीन भण्डारको केही हिस्सा सार्वजनिक गरे पनि खासै प्रभाव देखिएको छैन । विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीका महासचिव जुन्या ओगावाले इटोको भनाइलाई "वास्तविकताबाट टाढा र असहनीय" भनेर कडा आलोचना गरेका छन् ।
प्रधानमन्त्री सिगेरु इसिबाले इटोको टिप्पणीलाई "दुर्भाग्यपूर्ण" भन्दै स्पष्ट असहमति जनाउँदै भने, “अहिले चामलको समस्या समाधान गर्नु मन्त्रीको प्रमुख जिम्मेवारी हो ।”
इटोले सोमबार आफ्नो टिप्पणीमा अतिरञ्जना भएको स्वीकार्दै पछि फिर्ता लिन प्रयास गरे । उनले भने, “जब दानमा आएको चामल सकिन्छ, मेरी श्रीमती चामल किन्न जानुहुन्छ।” तर सार्वजनिक आक्रोश नरोकिएपछि बुधबार उनले अन्ततः राजीनामा दिए ।
इसिबाले राजीनामा स्वीकार गर्दै संसदमा भने, “म जनतासँग क्षमा माग्छु, किनभने उहाँलाई नियुक्त गर्नु मेरो जिम्मेवारी थियो । चामलको मूल्यवृद्धि एकपटकको घटना होइन, संरचनात्मक समस्या हो जसको समाधान आवश्यक छ ।”
कृषिमन्त्रीको उत्तराधिकारीका रूपमा पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा र पूर्ववातावरण मन्त्री सिन्जिरो कोइजुमीलाई जिम्मेवारी दिने घोषणा गरिएको छ ।
नयाँ मन्त्री ४४ वर्षीय कोइजुमीबाट सरकारले चामल संकट समाधानमा बलियो नेतृत्वको अपेक्षा राखेको जनाएको छ ।
यस घटनाले जुलाईमा हुने माथिल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री इसिबाको सरकारलाई थप दबाब सिर्जना गरेको छ । विपक्षी दलहरूले विश्वासको मतविरुद्ध प्रस्ताव ल्याउने चेतावनीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस