सन् २०२४ मा बेलायतको आप्रवासनमा उल्लेखनीय गिरावट

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्यामा करिब आधाले कमी आएकोे बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को सोही अवधिमा यो सङ्ख्या घटेर चार लाख ३१ हजार पुगेको छ ।
कोभिड–१९ महामारीपछि बेलायत आउने र बाहिरिनेको सङ्ख्याबीचको अन्तर अर्थात् कुल आप्रवासनमा यो सबैभन्दा ठूलो गिरावट हो । ओएनएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “दीर्घकालीन कुल आप्रवासनमा करिब ५० प्रतिशतले कमी आएको छ ।”
“हामीले काम र अध्ययनसँग सम्बन्धित भिसामा आउनेहरूको सङ्ख्यामा कमी देखिरहेका छौँ,” विज्ञप्तिमा भनिएको छ । सन् २०२४ को डिसेम्बरसम्मको १२ महिनाको अवधिमा विशेषगरी काम र अध्ययन भिसामा रहेकाहरूको आप्रवासनमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
यसअघिको कन्जरभेटिभ सरकारले यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका लागि नियम कडा बनाएको, उच्च तलबमा जोड दिएको र मानिसहरूलाई आफ्ना परिवारलाई आफूसँगै ल्याउन अनुमति दिन अस्वीकार गरेको थियो। आप्रवासन बेलायतको राजनीतिमा एक महत्वपूर्ण मुद्दा बनेको छ र स्टार्मरले मे १२ मा कडा नयाँ नीतिहरू सार्वजनिक गर्दै बेलायतको सीमामा ‘अन्ततः नियन्त्रण फिर्ता लिने’ प्रतिज्ञा गर्नुभएको थियो ।
यी उपायहरूमा विदेशी हेरचाह कामदारहरू कटौती गर्ने, आप्रवासीहरू बसोबासका लागि योग्य हुन सक्ने समयको लम्बाइ दोब्बर गर्ने र विदेशी अपराधीहरूलाई निर्वासित गर्ने नयाँ शक्तिहरू समावेश छन् । बेलायतलाई युरोपेली सङ्घमा रहिरहनुपर्ने पक्षमा मतदान गरेका स्टारर्मलाई मे महिनामा भएको स्थानीय चुनावमा आप्रवासन विरोधी (सुधारवादी पक्ष) ले आश्चर्यजनक रूपमा बहुमत प्राप्त गरेपछि आप्रवासन नियन्त्रणका लागि नयाँ दबाब परेको छ ।
उनले आफ्नो सम्बोधनमा बेलायत ‘अपरिचितहरूको टापू’ बन्ने खतरा रहेको बताएका थिए । यसले आफ्नै लेबर पार्टीभित्रैबाट उनको कडा बयानबाजीको लागि तीव्र आलोचना सुरु गरेको थियो । नयाँ कदमको उद्देश्य सन् २०२९ मा संसदको अन्त्य सम्ममा वार्षिक एक लाखसम्म भिसा सङ्ख्याघट्ने गरी कुल आप्रवासनमा उल्लेखनीय कमी ल्याउनु रहेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आन्तरिक मामिलामन्त्री यवेट कूपरले भने, “गत संसद्मा यो सङ्ख्या चार गुणाले घटेर झण्डै १० लाखमा झरेपछि निर्वाचनपछि कुल आप्रवासनमा आएको तीन लाखको गिरावट महत्वपूर्ण र स्वागतयोग्य छ ।” जुलाईमा भएको आम निर्वाचनपछि बेलायतको तटमा साना डुङ्गामा आएका करिब ३० हजार शरणार्थीलाई आफ्नो मूल देश फर्काइएको उनले बताए ।
यद्यपि, सन् २०२३ को डिसेम्बर सम्ममा शरणार्थीका लागि पर्ने आवेदनको सङ्ख्या ८० हजार रहेकोमायो सङ्ख्या सन् २०२४ को डिसेम्बरमा ९५ हजार पुगेको तथ्याङ्कले देखाएको छ । फरक फरक तथ्याङ्कले अनियमित आप्रवासीहरूको सङ्ख्यामा वृद्धि देखाएको छ । वर्षको सुरुदेखि अहिलेसम्म १३,५०० भन्दा बढी बेलायत आइपुगेका छन् भने उनीहरूमध्ये अधिकांश धेरै साना डुङ्गाहरूमा इङ्लिस च्यानल पार गरेर बेलायत पुगेका तथ्याङ्कले देखाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस