एकै दिन देशभर सवारी दुर्घटनाबाट ४ जनाको ज्यान गयो
आज देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका-२ सानेपा हाईटस्थित सडकमा ना.८ ख ५१४ नम्बरको ट्रकले प्रदेश ३-०२-००२ प ७२५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गोदावरी नगरपालिका-१२ ठेचो निवासी ५९ वर्षीया केशरी माया तामाङ गम्भीर घाइते भएकी थिइन्। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक र स्कुटर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ।
त्यसैगरी, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१२ जमुनियामा लु. २ ख १०१४ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री १३ वर्षीय विश्वास चौधरीको घटनास्थलमै मृत्यु भएको छ। उनी सोही नगरपालिका-१२ सपैया निवासी थिए। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिराहाको कर्जन्हा नगरपालिका-४ भुल्केमा बा.प्र.०१-०२८ च ४९५९ नम्बरको कारले ठक्कर दिँदा २ वर्षीय बालक सुशान्त गिरी गम्भीर घाइते भएका थिए। उनको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कार चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलवारमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा मायादेवी गाउँपालिका-८ निवासी ५५ वर्षीय सर्वजीत कोईरीको मृत्यु भएको छ। गम्भीर घाइते उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस