तमोर करिडोरमा ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा ब्रेक फेल भई दुर्घटना हुँदा एक ट्रकमा भीषण आगलागी भएको छ। आगलागीमा परी ट्रक चालकको जलेर दर्दनाक मृत्यु भएको छ।
विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो।
दुर्घटनापछि सवारीसाधनबाट बाहिर निस्कन सफल भए तापनि अगाडिको भागबाट सल्किएको आगोको चपेटामा पर्दा चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकका सहचालक तेह्रथुम, म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन्।
घटना लगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो। दुर्घटना र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस