Techie IT
२०८३ श्रावण २३, शनिबार

बङ्गलादेशमा दुई बस आपसमा ठोक्किंदा १६ जनाको मृत्यु


ढाका: बङ्गलादेशमा शुक्रबार भएका दुई छुट्टाछुट्टै भीषण सडक दुर्घटनामा १६ जनाको ज्यान गएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन्।

सिल्हट जिल्लाका प्रहरी उपरीक्षक चौधरी एमडी जाबेर सादेकका अनुसार राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्वमा पर्ने सिल्हट क्षेत्रमा बिहान करिब ७:३० बजे दुईवटा यात्रुवाहक बस आपसमा ठोक्किएका थिए। यस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

प्रहरी उपरीक्षक सादेकले दिएको जानकारी अनुसार ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। उक्त दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ।

यसैबीच, ढाकाबाट करिब १९७ किलोमिटर उत्तरपश्चिममा रहेको बोगुरा जिल्लामा अर्को भीषण दुर्घटना भएको छ। स्थानीय दमकल सेवा तथा नागरिक सुरक्षा कार्यालयका अधिकारी एमडी शाहिदुल इस्लामका अनुसार बिहान ५:३० बजे तीव्र गतिमा रहेको अनियन्त्रित बस सडकछेउमा काम गरिरहेका मजदुरहरूको समूहमाथि ठोक्किएको थियो। सो दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको र १५ जना घाइते भएको बताइएको छ।

दुवै दुर्घटनामा घाइते भएका सबै जनालाई स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट